काठमाडौं, ११ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्तिको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन्ड चलाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैंको अवसरका खुला भेटघाट कार्यक्रम’मा अध्यक्ष ओलीले देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध भ्रमको खेती भइरहेको बताए ।
‘विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने, देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइहाल्ने प्रवृत्ति बढेको छ । भ्रमको खेती गर्नेहरू लागिरहेका छन् ।’ अध्यक्ष ओलीले भने
अध्यक्ष ओलीले वर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड आगजनीबाट बनेको बताए ।
आफूले कुनै षड्यन्त्र नगरेको भन्दै अध्यक्ष ओलीले भने, ‘यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्यायोस् । हिम्मतका साथ प्रकाशित गरोस् । मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्यायोस् ।’