नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै

काठमाडौं, १५ असोज ।

नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ

माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । सिद्धिदात्रीलाई सबै प्रकारका सिद्धि र विजयकी प्रतीक मानिन्छ । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

यही विश्वासका साथ आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्री देवीको पूजा गर्नेहरुको भिडभाड छ । काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगतवी, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायानी, शोभा भगवती गुहृयेश्वरी, महांकाल, लगायत शक्तिपीठहरुमा नवरात्र अवधिभर विशेष पूजा आराधना गरिएको छ । यो क्रम आजसम्म जारी रहन्छ ।

आज रातिबाट नवरात्र सकिएसँगै भोलि विहीबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष पनि विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसादको रुपमा टीका र जमरा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ ।सोहि अनुसार नेपालीहरुले अक्षता जमरा लगाएर मान्यजनको आशिर्वाद लिने गर्छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज