भिटेन उपनामले परिचित ¥यापर समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । प्रहरी प्रधान कार्यालय र साइबर व्युरोको नाममा उच्च अदालतले सो आदेश जारी गरेको हो । अदालतले प्रहरी प्रधान कार्यालय र व्युरोलाई भिटेन माथी अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश जारी गरेको छ ।
पारा शिर्षकको गित गाएर चर्चा र विवादमा आएका भिटेन प्रहरीले पक्राउ गर्नु अगावै उच्च अदालत पाटनमा उपस्थित भएका थिए । उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे । भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।
केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।
र्यापर भिटेनको नयाँ गीत ‘पारा’मा अपाच्य शब्द भएको प्रहरीको दावी छ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्याप गीत गाएर विवादमा मुछिएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।
गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर विवादमा तानिएपछि भिटेनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी समेत मागेका थिए । ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु,’ भिटेनले विज्ञप्तिमा भनेका छन्, ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोटप्रति क्षमायाचना गर्दछौँ ।’
गीतमा प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत केही समयका लागि हटाएको थियो ।