विदेशमा अत्रलप परेर फर्किएका आफ्नै खर्चमा स्वदेश फर्किकालाई सरकारले लागत रकम फिर्ता दिने

विश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण बैदेशिक रोजगारमा रोजगारी गुमाएर स्वदेश फर्किएका श्रमिकहरुलाई स्वदेश फर्कदा लागेको रकम नेपाल सरकारले फिर्ता दिने भएको छ । यसको लागि स्वदेश फर्किएका कामदारहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिनु पर्नेछ । सरकारले बनाएको निःशुल्क उद्धारको निर्देशिकाको मापदण्डमा रहेर रोजगार गुमाएर स्वदेश फर्किएका श्रमिकहरुले वैदेशिक राेजगार विभागमा निवेदन दिएर स्वदेश फर्कदा लागेको हवाई टिकट बापतको रकम फिर्ता पाउने छन् ।

कोभिड १९ क्राइसिस् म्यानेजमेन्ट कमिटिका अनुसार, कोरोना महामारी सुरु भएपछि रोजगारी गुमाएर, करार अवधि सकिएर वा अन्य विभिन्न कारणले कात्तिक १६ गतेसम्ममा १ लाख २८ हजार ८५१ जना नेपाली स्वदेश फर्किएका छन् । यसरी फर्कनेमा सबैभन्दा धेरै रोजगारीका लागि खाडीका देश र मलेसिया गएका नेपाली छन् ।

कोरोना महामारीको कारण रोजगारी गुमाएर आफ्नै खर्चमा फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर सरकारले उद्धार गर्न निर्देशिका बनाएको छ । त्यो निर्देशिकाले विभिन्न मापदण्ड तोकेको छ ।

जसअनुसार मापदण्ड भित्र पर्ने श्रमिकहरुले आफ्नै खर्चमा स्वदेश फर्किएको भए पनि लागेको रकम फिर्ता पाउने व्यवस्था गरिएको छ । तर अहिलेसम्म स्वदेश फर्किएका १ लाख २८ हजारभन्दा धेरै श्रमिक मध्ये झण्डै ३० जनाले मात्र विभागमा रकम दावी गर्दै निवेदन दिएको विभागका सुचना अधिकारी टीकामणि नेउपानेले जानकारी दिनुभयो ।

‘अहिलेसम्म ३० जना जतिको लिखित निवेदन परेको छ, त्यो निवेदन अनुसार हामीले गन्तव्य देशमा रहेका नेपाली दूतावासमा पठाएका छौं, अब दूतावासले उहाँहरुले दिएको निवेदन अनुसार हो भनेर लेखेर पठाएमा हामी वैदेशिक रोजगार बोर्डमा पत्र लेख्ने छौं,’ सुचना अधिकारी नेउपानेले भन्नुभयो, ‘अहिलेसम्म दूतावासले निवेदन उपर छानविन गरी पठाएका छैनन् ।’

फर्कने श्रमिकको तुलनामा एकदमै कमको निवेदन परेको उहाँले बताउनुभयो । बेलाबेलामा कतिपय श्रमिकले फोन गरेर सोध्ने गरेको भए पनि लिखित रुपमा निवेदन नै दिन आउने भने कम रहेको उहाँको भनाइ छ ।

‘चाडबाड भएर हो कि या प्रक्रिया लामो भएकाले झन्झट मान्नुभएको हो निवेदन कम परेको छ, तपाईँसँग प्रमाण छन् भने विभागमा आएर निवेदन दिनुहोस्,’सुचना अधिकारी नेउपानेले अनुरोध गर्नुभयो ।

निःशुल्क उद्धारको निर्देशिकाले तोकेको मापदण्ड पूरा गर्ने श्रमिकले पासपोर्ट, फर्किएको टिकट, करार सम्झौंता र कोरोना महामारीको कारण काम गुमेको हो भन्ने कुनै प्रमाणसहित विभागमा निवेदन दिन सक्नेछन् ।

यस्तो छ मापदण्ड

कोरोना महामारीको कारण विदेशमा अलपत्र परेका श्रमिकको निःशुल्क उद्धारका लागि सरकारले बनाएको निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका श्रमिकलाई मात्र यो निर्देशिकाले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर उद्धार गर्ने भनेको छ ।

सम्बन्धित गन्तव्य देशको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला म्यानपार वा अन्य स्रोतबाटसमेत हवाइ टिकट र खर्च नपाएका श्रमिकलाई यो निर्देशिका अनुसार सरकारले उद्धार गर्ने मापदण्ड बनाएको छ ।

यस्तै, रोजगारीको प्रकृति, विदेशमा भएको कमाइ र अन्य स्रोत समेतका अधारमा आफ्नै खर्चमा स्वदेश फर्कंन नसक्ने अवस्थाका श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम पाउनेछन् भने जेलमा परेर आममाफी पाएर घरफिर्ती केन्द्रमा रहेका श्रमिकलाई पनि स्वदेश फिर्तीका लागि कल्याणकारी कोषको रकम प्रयोग गर्ने निर्देशिकामा उल्लेख छ ।

 निर्देशिकाले अलपत्र परेका श्रमिकलाई गन्तव्य देशको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने म्यानपावर र अन्यस्रोतबाट सहयोग प्राप्त भए पनि त्यो रकम अपुग भएमा अपुग रकम कल्याणकारी कोषबाट व्यहोरिने व्यवस्था गरेको छ ।

कति रकम पाइन्छ ?

श्रमिकले एक वर्षभन्दा कम रोजगार अवधिमा काम गुमाएको भए फर्कदा लागेको हवाई टिकटको खर्च सतप्रतिशत दिने व्यवस्था निर्देशिकाले गरेको छ ।

यस्तै, एकवर्ष या त्योभन्दा बढि विदेशमा काम गरेपछि रोजगारी गुमाएको भएमा फर्कदा लागेको हवाई टिकटको ७५ प्रतिशत रकम फिर्ता पाइन्छ भने पुनः श्रम स्वीकृति लिएर गएका श्रमिक अलपत्र परेर फर्किएको भएमा कोषबाट ५० प्रतिशत रकम मात्र पाउने व्यवस्था निर्देशिकाले गरेको छ ।

तर श्रम स्वीकृतिको अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकको भने हवाई टिकट सतप्रतिशत नै कोषबाट व्यहोरिने व्यवस्था छ ।

साथै निर्देशिकाको मापदण्डमा परेका श्रमिक विमानस्थलबाट सम्बन्धित क्वरेण्टीनसम्म पुग्दा लागेको खर्चसमेत कोषबाट व्यहोरिने व्यवस्था निर्देशिकाले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज