प्रचण्ड: एउटा नाम, दुई समय

ध्रुव के.सि./ पर्वत

हिजो…
पाखाभरि जनताको चित्कार थियो,
कुनै आमा कराउँदै थिई —
“बचाउ मेरा छोराहरू!”
र तपाईंको मुटुमा पोलिरहेको थियो त्यो पीडा,
त्यही पीडालाई तिमिले राइफलको नालमा राखेर बोलेको थियौं —
“अब परिवर्तन नआए सम्म, यो युग बन्दुकमै लेखिन्छ!”

हिजो तिमि
सपना बेच्न होइन,
सपना पूरा गर्न जंगल पसेका थियौं।
तिम्रो आँखा देशका खेतालाहरू हेर्थे,
बन्दुकको छायाँमा
कृषकका सपनाहरू रोप्न खोज्दै थिए।
राजा भन्ने नाम,
तिम्रो भाषामा अपराध थियो,
जनयुद्ध भन्नु
मानौँ माटोको मुटुमा रक्तक्रान्ति चिसाउने कवच थियो।


तर आज…
त्यसै सिंहदरबारमा,
जहाँ एकदिन तिमिले चिच्याएर भनेका थियो —
“यो दरबार ढालिन्छ!”,
आज त्यहाँ तिम्रो कुर्सी छ,
त्यो कुर्सीमा शान्त सरकारको छाँया छ,
तर तिम्रा आँखामा
क्रान्तिको आगो छैन,
शान्त सम्झौताका धुवाँ मात्रै छन्।


हिजो तिम्रो पाइला
जङ्गलका भाकामा चिच्याउँथ्यो —
“जनगणतन्त्र! जनगणतन्त्र!”
आज ती नै शब्दहरू
भाषणको सुन्न नसकिने जुम्मा बनेर,
फाइलमा थन्किएका छन्।


तिमि
क्रान्तिको आवाजबाट सत्ता बनाउने पहिलो व्यक्ति हुन सक्छौ
तर तिमी इतिहासको चिहानबाट पनि फर्कनुहुन्न।
किनकि
माटो जान्दछ को हो साँच्चै उसको सन्तान,
र को हो सत्तामा पुगेपछि बिर्सने मान्छे।


सिंगो एक दशक —
हजारौं लाश, हजारौं टुक्रिएका परिवारहरू,
आमा भइन् विधुवा, छोरा भइन् टुहुरा,
र त्यो संघर्षको मुख्य अनुहार —
तिमि नै हो।


आज ती टुहुराहरू प्रश्न गर्छन् —
“हामीले बाबु गुमायौं, तिमिले के पायौं?”
तिम्रो जबाफ छ सत्ता,
तर तिनीहरूको जबाफ छ चिहान।


कविता लेखिए, पुस्तक छापिए,
अध्ययन गरिन्छ तपाईंको योगदान —
तर त्यो ‘अध्ययन’ मात्र इतिहासको मुखपोति हो,
मूल प्रश्न हो —
के तिम्क आज पनि त्यही सपना देख्छौ?
कि आज त्यो सपना तिम्रो सुविधा अनुसार बदलिएको छ?

क्रान्तिमा तिमि नायक बन्यौ
आज राजनीतिमा तिमि शासक छौ।
तर नायक र शासकबीच
एउटा पर्खाल हुन्छ —
एकतर्फ जनता साथ हुन्छ, अर्को तर्फ जनता टाढा।


हिजो तिमी माटोको पुत्र थियौं,
आज तपाईं सिंहदरबारको संरक्षक हुनुहुन्छ।
हिजो तिमि सपना थियौ
आज तपाईं सम्झौता हुनुहुन्छ।

जनताले विश्वास गरे —
“यो मान्छे त हामीजस्तै दुखको कविता हो”,
तर आज
तपाईं एक चित्रमा सीमित हुनुहुन्छ,
जुन चित्रलाई हेर्दा जनतालाई
सोध्न मन लाग्छ —

“के यही थियो हाम्रो गणतन्त्र?”
“के यही हो परिवर्तनको स्वाद?”
“के प्रचण्डको आगो,
आज आफैं खरानी बनिसकेको हो?”

प्रचण्ड —
तपाईं अझै इतिहासमा बाँचेका हुनुहुन्छ,
तर इतिहासको अनुहारले आज तपाईंलाई घुर्न थालेको छ।
नायक बन्न गाह्रो छैन,
तर नायकको आदर्श बचाउन —
मुटु चाहिन्छ,
र त्यो मुटु अझै तपाईंमा बाँकी छ कि छैन —
देश पर्खिरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज