१४ असोज, काठमाडौं ।
आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ ।
सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र छन् । नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका व्यवस्थापक पंकज मल्लका अनुसार अरनिको राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु पठाउने तयारी हुँदैछ ।
‘करिब ४ बजेपछि बसहरु छुट्न थाल्ने छन्, यातायात व्यवसायीहरुले आफ्नो र यात्रुको अनुकूलताका आधारमा तयारी गरिरहेका छन्,’ मल्लले भने, ‘पानी परेन र सडकमार्गको अवरोधहरु लगभग सबै क्लियर भइसकेपछि सवारी छुट्न थालिहाल्छन् ।’
त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् ।
