पर्वत अस्पतालमा दुई दिनमै चार जनाको सफल शल्यक्रिया

पर्वत ।

 

पर्वत अस्पतालको नयाँ भवनबाट सेवा सञ्चालन भएसँगै अस्पतालप्रति बिरामीको विश्वास बढ्दै गएको छ। पछिल्लो दुई दिनमा मात्रै विभिन्न स्वास्थ्य समस्याबाट पीडित चार जना बिरामीको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार लामो समयदेखि इङ्गुइनल हर्नियाको समस्याबाट पीडित ६२ वर्षीय र ४२ वर्षीय पुरुषको हर्नियासम्बन्धी शल्यक्रिया गरिएको हो। त्यसैगरी, ५१ वर्षीय पुरुषको बायाँतर्फको हाइड्रोसिल तथा ५० वर्षीय पुरुषको पटक–पटक एपेन्डिसाइटिस बल्झिने समस्याका कारण खुला विधिबाट एपेन्डिक्सको शल्यक्रिया गरिएको छ।

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीको समन्वयमा चारवटै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ। शल्यक्रियामा विशेषज्ञ चिकित्सक डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. बालकृष्ण श्रेष्ठ, मेडिकल अफिसर डा. कृष्ण काफ्ले, डा. जुनु क्षेत्रीलगायत नर्स तथा अन्य स्वास्थ्यकर्मी सहभागी थिए।

शल्यक्रियापछि बिरामीहरूले अस्पतालबाट प्राप्त उपचार सेवा र स्वास्थ्यकर्मीहरूको सहयोगप्रति सन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरेका छन्।

सीमित स्रोतसाधनका बाबजुद पर्वत अस्पतालले विशेषज्ञ सेवा र शल्यक्रिया सेवा विस्तार गर्दै जानुलाई जिल्लावासीका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। यसले सामान्यदेखि विभिन्न प्रकृतिका स्वास्थ्य समस्याको उपचारका लागि अन्य जिल्लाका ठूला अस्पतालमा जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

अस्पतालले आगामी दिनमा पनि सुरक्षित, गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै जिल्लावासीको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज