पर्वत,असोज २८ । विश्व बाल दिवसको अवसरमा पर्वतमा जिल्लास्तरीय बालबालिका पञ्चेबाजा प्रतियोगिता आयोजना हुने भएको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा आगामी मंसिर ४ गते शुक्रबार कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा प्रतियोगिता हुने भएको हो। प्रतियोगिता बिहान १०:३० बजेदेखि सुरु हुनेछ।
बालअधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै बालबालिकाको प्रतिभा पहिचान र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कार्यालयले जनाएको छ। प्रतियोगितामा पर्वतका सातवटै स्थानीय तहबाट बालबालिकाका समूह सहभागी हुन सक्नेछन्।
कक्षा १ देखि १२ सम्म अध्ययनरत बालबालिका सहभागी हुन पाउने प्रतियोगितामा एउटा स्थानीय तहबाट बढीमा दुई समूहले भाग लिन सक्नेछन्। बालअधिकारसम्बन्धी सन्देश समेटिएका गीत तथा पञ्चेबाजाको मौलिक धुन प्रस्तुत गर्ने समूहलाई प्राथमिकता दिइनेछ।
प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार, द्वितीयले १० हजार, तृतीयले सात हजार र सान्त्वना हुने समूहले चार हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन्। पञ्चेबाजाका विभिन्न बाजा बजाउने उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरिनेछ। सहभागी समूहलाई यातायात खर्चसमेत उपलब्ध गराइने कार्यालयले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले बालबालिकाको नाम र समूहको नामसहितको विवरण मंसिर १ गतेसम्म [email protected] मा इमेल गरी दर्ता गर्न सक्नेछन्।
प्रतियोगिताले बालबालिकामा आत्मविश्वास, सामूहिक भावना र नेतृत्व क्षमताको विकाससँगै नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
