१७ मंसिर, कुश्मा ।
३४ सौं अन्तर्राष्ट्रिय अपांगता दिवसको सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) पर्वतको आयोजनामा सदरमुकाम कुश्मामा समावेशी शिक्षा : वर्तमान अवस्था, चुनौती र सम्भावना विषयक एक दिवसीय छलफल कार्यक्रम सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको छ । 
अपांगता भएका नागरिकहरुको सम्मानजनक र मर्यादित जीवनयापन सुनिश्चित गर्नका लागि उनीहरुको शिक्षाको अधिकारमा कुनै पनि बहानामा सम्झौता गर्न नहुने कुरामा कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छन् । छलफल कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिका, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष इश्वर गिरीले अपांगता भएका नागरिकका लागि सुरक्षित समाज बाँकी सबै मानिसहरुका लागि स्वतः सुरक्षित हुने भएकाले अपांगताका आधारमा कुनै विभेद नगरी उनीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउनुपर्ने कुरामा जोड दिंदै कुश्मा नगरपालिकाले पनि आफ्नो पालिका भित्रका अपांगता भएका बालबालिकाहरुको हितमा अधिकतम काम गर्ने प्रयास गरिरहेिको जानकारी गराउनुभयो । उहाँले संविधानको धारा ३१ को मर्मलाई तीनै तहका सरकारहरुले इमान्दारितापूर्वक कार्यान्वयन गर्न सके सबै बालबालिका र अपांगता भएका बालबालिकाको विशेष आवश्यकतालाई पनि सम्बोधन गर्न सकिने तर्क गर्नुभयो ।
साविकको सामाजिक विकास कार्यालय र हाल एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले अपांगता भएका बालबालिकालाई समावेशी शिक्षाका माध्यमबाट उनीहरुको सर्वाङ्गिण विकासमा योगदान गर्न सबै सरोकारवाला निकाय र व्यक्तिहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । भौतिक संरचनाहरु अपांगमैत्री बनाउनुका साथै कक्षा कोठा र सिंगो विद्यालय परिसर अपांगमैत्री बनाउन सक्ने हो भने अपांगता भएका बालबालिकाको आधारभूत अधिकार र शिक्षाको अधिकारलाई सँगसँगै अघि बढाउन सकिने वातावरण बन्ने उहाँको तर्क थियो ।
कुश्मा नगरपालिका महिला तथा बालबालिका शाखाका अधिकृत चेतकुमारी शर्माले अपांगता भएका नागरिकहरुको अधिकार पनि मानवअधिकारको अंग भएकाले उनीहरुलाई कुनै पनि कारणले विभेद, हेलाहोचो र अपहेलना गर्न नहुने कुरामा जोड दिनुभयो । कुश्मा नगरपालिकाले एनसिई नेपाल पर्वतसँग समन्वय र सहकार्य गरी विगतमा थुप्रै कार्यक्रम गरेको र आगामी दिनहरुमा पनि सहकार्य गर्न नगरपालिका तयार रहेको जानकारी दिँदै विशेष अवस्थाका बालबालिका पहिचान गर्ने, उनीहरुलाई विद्यालयसम्म पुर्याउने र उनीहरुको समावेशी तथा समाहित शिक्षा प्राप्त गर्ने अधिकारलाई स्थापित गर्न नगरपालिकाले साझेदारी वा समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा विषयगत कार्यपत्र प्रस्तुत गर्दै एनसिई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडीले पर्वत जिल्लामा रहेका तीनवटा विशेष स्रोत कक्षाहरुले अपांगता भएका बालबालिकाको विद्यालय शिक्षा सुनिश्चित गर्न प्रशंसनीय योगदान गरिरहेको कुरा जानकारी गराउँदै अपांगता भएका बालबालिकाको समावेशी शिक्षा रणनीतिलाई प्रवद्र्धन गर्न जति गर्न सकिन्थ्यो, त्यती काम नभएको औंल्याउनुभयो । उहाँले अपांगता भएका बालबालिकाले भोग्नुपरेका थुप्रै समस्याहरुको पोको फुकाउँदै राज्य, नागरिक समाज र सम्बन्धित सरोकारवालाहरु सचेत र जिम्मेवार हुने हो भने चुनौतीहरुलाई न्यूनीकरण गरेर अपांगता भएका बालबालिकाको शिक्षाको अधिकार व्यवस्थित गर्न सकारात्मक वातावरण सिर्जना गर्न सकिने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा अपांगता भएका विद्यार्थीीहरुको तर्फबाट सरिता शर्मा, नविना कार्की (भगवती), रुपा पुन मगरलगायतले आफ्ना गुनासा तथा सुझावहरु राख्नुभएको थियो भने निवृत्त शिक्षक समाजका कोषाध्यक्ष तथा एनसिई पर्वतका सदस्य एकनारायण चालिसे, फुलराज शर्मा लामिछानेलगायतले आ–आफ्ना विचार तथा सुझावहरु प्रस्तुत गर्नुभएको थियो । शिवालय बगैंचा शैक्षिक समाजका अध्यक्ष दिपेन्द्र बहादुर भण्डारीले अपांगता र समावेशी शिक्षाको भाव समेटिएको ममस्पर्शी कविता सुनाउनुभएको थियो ।
गैसस महासंघ नेपाल, पर्वत, नागरिक समाज सञ्जाल, पर्वत र नेपाल अपांग उत्थान समाज पर्वतसँग सहकार्य तथा समन्वय गरी सम्पन्न गरिएको कार्यक्रममा स्वागत मन्तव्य एनसिई नेपाल, पर्वतका संयोजक आशिष पौडेलले राख्नुभएको थियो भने कार्यक्रमको औचित्य माथि प्रकाश गैसस महासंघ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माले गर्नुभएको थियो । नेपाल अपांग उत्थान समाजका अध्यक्ष जगन्नाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एनसिई नेपाल पर्वतका निवर्तमान संयोजक यज्ञप्रसाद शर्माले गर्नुभएको थियो ।
