पर्वत, ३० असार ।
लगातार दुई दिनदेखि परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलस्तर बढेपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थल सेतीबेनीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ ।

नदीको बहाव उच्च बनेसँगै शालिग्राम शिला पूर्ण रूपमा पानीले ढाकिएको हो । वर्षायाममा जलस्तर बढेसँगै शिला डुब्ने गरे पनि यसपटक लगातारको वर्षाका कारण नदीको सतह उल्लेख्य रूपमा बढेको स्थानीयले बताएका छन् ।

सेतीबेणी प्रहरी चौकीका असई रमेश यादवका अनुसार निरन्तर वर्षाका कारण कालीगण्डकी र सेतीखोलाको जलस्तर बढेपछि शालिग्राम शिला डुवानमा परेको हो । नदी आसपासका क्षेत्रमा अनावश्यक रूपमा नजान तथा सतर्कता अपनाउन पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
विश्वकै ठूलो शालिग्राम शिलाका रूपमा परिचित सेतीबेणी धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ । 
