पर्वत, मंसिर १२ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालिगण्डकी नदीको धार्मिक, प्राकृतिक तथा सांस्कृतिक महत्वलाई जोड दिँदै संसारका सबै नदी सुक्दै गए पनि कालिगण्डकी नदी नसकिने नदीका रूपमा रहेको बताउनुभएको छ । शनिबार पर्वतको कुश्मामा आयोजित कार्यकर्ता भेटघाट तथा विद्युत् गृह निरीक्षण कार्यक्रममा सहभागी हुन पुग्नुभएका मन्त्री श्रेष्ठले भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै परापूर्वकालदेखि नै कालिगण्डकी नदीको विशिष्ट महत्व रहेको बताउनुभयो । उहाँले कालिगण्डकीलाई सामान्य नदीका रूपमा मात्र नभई नेपालको प्राकृतिक सम्पदा र सभ्यतासँग जोडिएको महत्वपूर्ण नदीका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्थानीयले कालिगण्डकी नदीमा भइरहेको अनियन्त्रित ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननका विषयमा मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । स्थानीयको गुनासो सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नदीजन्य पदार्थ उत्खनन रोक्ने विषयमा निर्णय गर्दा कानुनी तथा प्रशासनिक जटिलता आउन सक्ने बताउनुभयो । यसअघि दिइएका अनुमति तथा प्रक्रियाका कारण तत्कालै उत्खनन रोक्न खोज्दा मुद्दामामिला सहितका समस्या आउन सक्ने उहाँको भनाइ थियो ।
उहाँले प्राकृतिक स्रोतको संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै कालिगण्डकीको संरक्षणका विषयमा स्थानीय तह, सरोकारवाला निकाय र नागरिक सबैले निरन्तर चासो राख्नुपर्ने बताउनुभयो । गुनासो गरेर मात्र नहुने भन्दै समस्या समाधानका लागि के भइरहेको छ भन्ने विषयमा पनि बारम्बार खबरदारी र अनुगमन गर्न उहाँले आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले देशमा समस्या र चुनौती धेरै भए पनि ती समस्या समाधान गर्न राज्यका निकाय तथा नागरिकले कति मेहनत र प्रयास गरिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । सम्भावना भएर पनि उचित योजना र कार्यान्वयनको अभावमा पछि परेका क्षेत्रको विकासका लागि ठोस योजना आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले ऊर्जा, जलस्रोत र कृषि क्षेत्रलाई एकअर्कासँग जोडेर स्थानीयस्तरमै रोजगारी र उत्पादन बढाउनुपर्ने धारणा राख्नुभयो । मन्त्रालयले कृषि उद्यमीलाई लक्षित गरी कार्यक्रम समेत सञ्चालन गरेको जानकारी दिँदै पर्वतमा रहेका सम्भावनाको पहिचान गरी गुरुयोजना निर्माण गरेर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो । मन्त्री श्रेष्ठ असोज १० गते राति कालिगण्डकीमा आएको बाढीका कारण प्रभावित भएका जलजला गाउपालिका फर्सेका स्थानिय सँगपनी केहिवेर छलफल साथै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले
प्रभावित क्षेत्रमा तटबन्दलगाइदिन र सो ठाउँमा पुलको ब्यवस्था गरिदिन मन्त्रि समक्ष आग्रह गर्नुभएको थियो ।
त्यसैगरी, सरकारको नीति तथा कार्यक्रममा नेपालको जलस्रोतको वैज्ञानिक अध्ययन गर्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै जलस्रोतको वास्तविक सम्भावना पहिचान, दिगो उपयोग र संरक्षणका लागि अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पर्वत, बागलुङ, गुल्मी र स्याङ्जाका सांसदसहित स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
