कार्तिक, १ पर्वत ।
पाँचथरका २७ वर्षीय राजन मेयोङवाले पर्वतको दुर्लुङकोटमा आयोजित खुला हाफ म्याराथन प्रतियोगितामा पहिलो स्थान हासिल गर्दै १ लाख रुपैयाँ पुरस्कार जित्नुभएको छ । पहिलोपटक पर्वत आएका मेयोङवाले १ घण्टा २५ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि आफ्नो नाममा लेखाउनुभएको हो ।
म्याराथन प्रतियोगिता हुँदैछ भन्ने खबर पाएपछि खेलमा सहभागी हुने र नयाँ ठाउँ घुम्ने अवसरका रूपमा पर्वत आउनुभएका मेयोङवाले स्थानीय तथा बाहिरी जिल्लाका धावकलाई पछि पार्दै पहिलो स्थान हासिल गर्नुुभएको हो , खेलमा प्रतिस्पर्धा गर्न आउनुभएका उहाँ दुर्लुङकोटमा विजेता मात्र बन्नुभएन १ लाख रुपैयाँ पुरस्कार जित्दै लखपति पनि बन्नुभएको छ ।
प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिका–१३ का सरोज कुँवर दोस्रो हुनुभयो । उहाँले १ घण्टा २६ मिनेटमा निर्धारित दूरी पूरा गर्नुभएको थियो । त्यसैगरी, १ घण्टा २९ मिनेटमा दौड पूरा गर्नुभएका सञ्जय राई तेस्रो हुनुभयो ।
चौथो स्थान हासिल गर्नुभएका राजेन्द्र राईले १ घण्टा ३५ मिनेट र पाँचौँ हुनुभएका गोपाल तामाङले १ घण्टा ३७ मिनेटमा दौड पूरा गरेको प्रतियोगिताका प्रमुख रेफ्री जगदीश कुँवरले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी ६५ धावकमध्ये ३३ जनाले निर्धारित दूरी पूरा गरेको आयोजकले जनाएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको दुर्लुङकोट गाउँमा पर्यटन प्रवद्र्धन र खेलकुद विकास गर्ने उद्देश्यले दुर्लुङकोट म्याराथन समाजले पहिलोपटक खुला हाफ म्याराथन आयोजना गरेको हो । शनिबार सम्पन्न प्रतियोगितामार्फत दुर्लुङकोट क्षेत्रलाई खेल पर्यटनको गन्तव्यका रूपमा चिनाउने प्रयास गरिएको आयोजकले जनाएको छ ।
समाजका अध्यक्ष भीमबहादुर गुरुङका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य दुर्लुङकोट क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु, खेलकुदको विकास गर्नु र स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नु हो ।
समाजका सचिव भीमप्रसाद शर्माका अनुसार मोदी गाउँपालिकाको पातीचौरबाट सुरु भएको दौड भ्याप्ले, अम्बोट, परादी, चुवा र खरेहा हुँदै दुर्लुङचोक पुगेको थियो । त्यसपछि गोदाम, सल्यान र देउराली हुँदै कोटथरबाट कोटगाउँ पुगेर प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा प्रथम हुने मेयोङवाले १ लाख रुपैयाँ, दोस्रो हुने सरोज कुँवरले ६० हजार रुपैयाँ र तेस्रो हुने सञ्जय राईले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् त्यसैगरी, सान्त्वना स्थान हासिल गर्ने दुई धावकले जनही २० हजार रुपैयाँ र पाँचौँ हुने गोपाल तामाङले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
दुर्लुङकोटमा पहिलोपटक आयोजना गरिएको हाफ म्याराथनले स्थानीय क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गाउँको पहिचानलाई थप फराकिलो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
