बाल कुमार क्षेत्री ,पर्वत
कहाँ गए रङीबिरङी खामहरू
लोप भए हल्कारा हरू
हराए सारा सुन्दर पलहरू
झोला भरीका मिठा यादहरू
स्वस्ति श्री ६ श्री
साष्टाङ दण्डबत्
मातापिताको चरणकमल
मुग्लानीका संदेश हरू
परदेशीको सारा खबरहरू
आमाको दश धारा ,बचपनको याद
सोधिन्थ्यो आमाको दर्द र पीडा
बाबाको ओखती, भाइको पढाई
बैनीको नाना फाट्यो होला जामा
आफ्नी बाटुलीको हालखबर
तल्लार बजै ,माथ्लाघर ठुले
पल्लार साइँली आमै
पल्लो गाउँको रामे
पुछार घरे जेठा बा
गाउँका चेलीहरू
सुन्तली, डल्ली ,फूलमायाँ
चमेली जुनेली र राधा
जम्मै त्यहि खाम भित्र
कति धेरै कुरा समेटिन्थे
कागजको यौटा खोष्टो भित्र
भक्कानिएर रुन्थी बाटुली
एकान्तमा खामलाई छातीमा टाँसेर
दोहराइ तेहराइ पढिन्थ्यो
गाउँका सबैलाई सोधिन्थ्यो
सबै अटाउथे त्यहि कागज भित्र ।
हराए रंगीन खामहरू
बिराना भए हुलाकी दाइहरू ।
कहाँ गए रङीबिरङी खामहरू बिराना भए हुलाकी दाइहरू ।
