पर्वत समाजको प्रथम साधारण सभा शनिबार, पर्वत चिनारी विमोचन र व्यक्तित्व सम्मान गरिँदै

 

काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार हुने भएको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गरिने समाजले जनाएको छ।

साधारण सभाको अवसरमा “पर्वत चिनारी” नामक प्रकाशन विमोचन गरिनेछ भने विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गरिनेछ। समाजका अध्यक्ष गणेश शर्माका अनुसार पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको छ।

व्यक्तित्व सम्मानअन्तर्गत पर्वत विशिष्ट व्यक्तित्व सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान तथा कृषि तथा उद्यम सम्मान प्रदान गरिनेछ। सम्मानका लागि व्यक्तित्व छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। समितिमा उच्च अदालतका पूर्व न्यायाधीश जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहनुभएको थियो।

समाजसँगको परामर्शमा समितिले सम्मानका विधा र मापदण्ड निर्धारण गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो। जसअनुसार पर्वत विशिष्ट व्यक्तित्व सम्मान पर्वतमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट छनोट गरिएको हो। त्यसैगरी शिक्षा सेवा, समाज सेवा तथा कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिसमा आएका उम्मेदवारमध्ये पर्वत जिल्लाका लागि पुर्‍याएको योगदानको मूल्याङ्कनका आधारमा प्रदान गरिनेछ।

पर्वत समाजले उक्त कार्यक्रममा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा रहेका सम्पूर्ण पर्वतबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज