काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरी–३ का उम्मेदवार अमरकान्त चौधरी आर्थिक विवादमा तानिएका छन्।
उनीद्वारा जारी गरिएको १ करोड ५० लाख रुपैयाँको चेक पर्याप्त मौज्दात नभएको कारण बैंकबाट फिर्ता भएको विवरण सार्वजनिक भएको हो। ग्लोबल आइएमई बैंक, डाक्नेश्वरी शाखाबाट काटिएको उक्त चेक ‘इन्सफिसिएन्ट फन्ड’ कारण बाउन्स भएको बैंकको रिटर्न स्लिपमा उल्लेख छ।
यससँगै चौधरीविरुद्ध विगतमा विद्यालय भवन निर्माणसम्बन्धी कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको तथ्य पनि बाहिर आएको छ। सो प्रकरणमा अन्य व्यक्तिहरूसमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ।
यता, धनुषा–१ मा रास्वपाका अर्का उम्मेदवार किशोरी साहको उम्मेदवारी बैंकिङ कालोसूचीमा नाम देखिएपछि निर्वाचन आयोगले खारेज गरिसकेको छ।
लगातार उठिरहेका यस्ता आर्थिक तथा कानुनी विवादका कारण रास्वपाको उम्मेदवार छनोट प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्। सम्बन्धित निकायहरूमा भने कानुनी प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ।
