२ चैत, काठमाडौं — केही वर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एकीकृत भएको छ। काठमाडौंमा भएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्मा लाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। ‘एकता, लगानी र गौरव’ नारासहित शनिबारदेखि सुरु भएको महाधिवेशनमा आइतबार मध्यरात नयाँ नेतृत्व चयन गरिएको हो।
यसअघि डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई छुट्टाछुट्टै समूह सक्रिय थिए, जसले संस्थालाई विभाजनको अवस्थामा पुर्याएको थियो। गत मंसिरमा दुवै पक्षबीच १० बुँदे सहमति भएपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्य ले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नेतृत्व चयनको बाटो खुलेको हो।
नयाँ कार्यसमितिमा शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष बनेका छन्। महासचिवमा गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का चयन भएका छन् भने कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना छन्। विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्दै महाधिवेशन समापन गरिने जनाइएको छ।
