पर्वत-११ वैशाख २०८३, शुक्रबार — पर्वत जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन्।
दुर्घटनामा २४ वर्षीय मिलन भुसाल, ३ वर्षीया अलिया भुसाल र २४ वर्षीया एलिना वैरागी घाइते भएका छन्।प्रदेश अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार साँझ करिब ५ बजेर १५ मिनेट जाँदा उक्त दुर्घटना भएको हो।अस्पतालका अनुसार मिलन भुसालको टाउकोमा गम्भीर चोट लागेको छ र दाहिने जाँघको हड्डी भाँचिएको छ। त्यस्तै अलिया भुसालको पनि टाउकोमा गम्भीर चोट लागेको छ। दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ।
यसैगरी एलिना वैरागीको दाहिने खुट्टामा गहिरो चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घाइते तीनै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा पठाइएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
