पर्वत,भदौ २०
पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीमा किसानलाई लक्षित गर्दै शनिबार एक दिने निःशुल्क पशु स्वास्थ्य तालिम सम्पन्न भएको छ। किसानको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा पशु स्वास्थ्य तथा पशुपालनसँग सम्बन्धित विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो।
सुजल डेरी प्रा.लि. तथा रसल डेरी उद्योगको आयोजना र जनसेवा भेट क्लिनिकको प्राविधिक सहयोगमा आयोजित तालिमको प्रायोजन सिटिजन फार्मास्युटिकल्स प्रा.लि., बर्दघाट, नवलपरासीले गरेको थियो।
तालिममा पशु रोगको पहिचान तथा रोकथाम, पोषण तथा आहार व्यवस्थापन, दुग्ध उत्पादनमा वृद्धि गर्ने उपाय, पशु पालनमा आधुनिक प्रविधिको प्रयोग तथा औषधि र खोपको सही प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा सहभागी किसानहरूले पशुपालनका क्रममा आफूहरूले भोग्दै आएका विभिन्न समस्या तथा जिज्ञासा राखेका थिए। किसानका गुनासा तथा समस्याबारे सिटिजन फार्मास्युटिकल्स प्रा.लि.का म्यानेजर मनोज पन्त तथा पशु चिकित्सक सरोज बिष्टले आवश्यक जानकारी, सुझाव तथा समाधानका उपायबारे जानकारी गराएका थिए।
पशु स्वास्थ्य र उत्पादनसँग प्रत्यक्ष जोडिएका विषयमा विशेषज्ञबाट जानकारी पाएपछि किसानहरू पनि चासोका साथ कार्यक्रममा सहभागी भएका थिए। आयोजकका अनुसार यस्ता तालिमले किसानलाई पशुको स्वास्थ्य संरक्षणसँगै दूध तथा पशुजन्य उत्पादन वृद्धि गर्न र व्यावसायिक पशुपालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
