पर्वत,१२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगर समिति, पर्वतको आयोजनामा कुश्मा नगरपालिका–३, दुर्लुङमा सम्पन्न प्रथम वडा भेला तथा समिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमबाट बिमल पौडेलको सभापतित्वमा नयाँ वडा समिति गठन गरिएको छ। समितिको उप–सभापतिमा सावित्री पौडेल, सचिवमा राजन शर्मा चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गौरव रेग्मि, जिवन पौडेल, लोक बहादुर क्षेत्री (अर्जुन), मनराज पौडेल र नारायण शर्मा चयन हुनुभएको छ। समितिको सल्लाहकारमा भिम प्रसाद शर्मा रहनुभएको छ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति बिमल पौडेलले समाज परिवर्तनका लागि आफू कुनै पनि मूल्य चुकाउन तयार रहेको दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब समय आएको छ—राजनीति सेवाको माध्यम बन्नुपर्छ। पारदर्शिता, जवाफदेहिता र जनताको प्रत्यक्ष सहभागिताबाट मात्र समाज परिवर्तन सम्भव छ। त्यसका लागि जस्तोसुकै चुनौती आए पनि हामी पछि हट्ने छैनौं।”
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेको सुशासन, युवा नेतृत्व, नागरिकको अधिकार र विकासमुखी राजनीतिले आम नागरिकमा नयाँ आशा जगाएको उल्लेख गरे। उनीहरूले वडा तहबाटै संगठन सुदृढ गर्दै जनताको समस्यालाई संस्थागत रूपमा उठाउने प्रतिबद्धता जनाए।
स्थानीय नागरिक, पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा आगामी दिनमा वडा स्तरमै नियमित अन्तरक्रिया, सामाजिक अभियान तथा जनमुखी कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।
कार्यक्रमले कुश्मा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारमा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ।
