पर्वत जिल्लाको जेठो भूतपूर्व विद्यार्थीहरूको साझा संस्था पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
पूर्णेश्वर माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवको अवसरमा माघ १२ गते विद्यालय परिसर वितलवमा आयोजित कुश्मा नगरपालिकास्तरीय प्रतियोगितामा १५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालय, कुश्मा प्रथम, आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालय, कुश्मा द्वितीय, आइबल एकेडेमी, कटुवाचौपारी तृतीय तथा जनता सुदर्शन माध्यमिक विद्यालय, ठुलीपोखरीले सान्त्वना स्थान हासिल गरेका छन्।
संस्थाका अनुसार प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई नगद १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार रुपैयाँ, तृतीयलाई ५ हजार रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, काफलचौर माध्यमिक विद्यालय, दुर्लुङलाई प्रोत्साहनस्वरूप नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगितामा सहभागी सबै विद्यालयलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको समाजले जनाएको छ।
यसअघि समाजका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि तथा कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष रामचन्द्र सुवेदीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा वडा अध्यक्ष सुवेदी, समाजका अध्यक्ष पौडेल, निवर्तमान वडा अध्यक्ष सुजन विकलगायतले मन्तव्य राख्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अर्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन समाजका सचिव सन्तोष पौडेलले गर्नुभएको थियो।
समाजका सह–सचिव दामोदर पौडेलका अनुसार प्रतियोगिता छनोट चरण, जनरल राउन्ड, अडियो–भिडियो राउन्ड तथा र्यापिड फायर राउन्डमार्फत सञ्चालन गरिएको थियो।
