गणपति लघुवित्तको कुश्मा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय कुश्मा, पर्वतद्वारा आयोजित एकदिने वित्तीय साक्षरता कार्यक्रम मिति २०८२ साल माघ १३ गते मंगलबारका दिन कुश्मा नगरपालिका–४ मा सम्पन्न भएको छ। कार्यक्रम कुश्मा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्री दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले लघुवित्त कार्यक्रमले साना–साना कर्जा लगानीमार्फत धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो। उहाँले गणपति लघुवित्त राम्रो उद्देश्यका साथ स्थापना भई सञ्चालन भइरहेको संस्था भएको बताउँदै आजको वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरूले महत्वपूर्ण ज्ञान लिएर जान आग्रह गर्नुभयो।

संस्थामा आबद्ध ग्राहक सदस्यहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धी विशेष प्रस्तुतीसहितको प्रशिक्षण संस्थाको तालिम, अनुपालना तथा प्रवर्द्धन विभाग प्रमुख प्रभुराज थापाले प्रदान गर्नुभयो। प्रशिक्षणका क्रममा वित्तीय अनुशासन, पारिवारिक बजेट निर्माण, आम्दानी–खर्च तथा बचतको व्यवस्थापन, कर्जाको महत्त्व र प्रयोग, साथै कानुनी अवधारणाका आधारमा कालोसूचीमा पर्न सक्ने अवस्थासम्मका विषयमा ज्ञानमूलक जानकारी प्रदान गरिएको थियो। साथै लघुवित्त सम्बन्धी भ्रम र यथार्थका समसामयिक विषयहरू सरल भाषामा सहभागीहरूलाई बुझाइएको थियो।

कार्यक्रमको अवसरमा शाखा कार्यालय कुश्मा अन्तर्गत सञ्चालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने तीन जना केन्द्र प्रमुख तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका वर्षका उत्कृष्ट तीन जना व्यवसायिक ग्राहकलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।

करिब ३० जना ग्राहक सदस्यहरूको सहभागिता रहेको उक्त वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १८९ की सदस्य युगमाया गिरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शाखा प्रबन्धक गणेश गौतमले गर्नुभएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज