सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कता, समन्वय र व्यवसायिकता अपनाउन निर्देशन दिनुभएको छ।
प्रधान कार्यालयबाट अनुगमनको क्रममा पर्वत जिल्ला पुग्नुभएका महानिरीक्षक अर्यालले जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालयका पदाधिकारीहरूसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै निर्वाचन सुरक्षाका विविध पक्षमा गहन छलफल गर्नुभयो।
उहाँले सामाजिक सञ्जाल र AI को दुरुपयोगमार्फत भ्रम फैलाउने, दुष्प्रचार गर्ने तथा मतदातालाई तर्साउने गतिविधि हुन सक्ने भन्दै त्यसलाई गम्भीर रूपमा लिन निर्देशन दिनुभयो। यस्ता गतिविधि हुन नदिन सबै सुरक्षा निकायबीच समन्वय र सहकार्य बढाउँदै संवेदनशील विषयमा विशेष सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
महानिरीक्षक अर्यालले एकीकृत सुरक्षा योजना अनुरूप स्थानीय तहमा प्रभावकारी कार्यसम्पादन गर्न, जुनसुकै सुरक्षा निकाय भए पनि राष्ट्र र नागरिकप्रति समान जवाफदेहिता हुने स्मरण गराउनुभयो। साथै निर्वाचनमा खटिने प्रहरी तथा कर्मचारीलाई समयसापेक्ष ब्रिफिङ गरी सम्भावित चुनौतीको पूर्व आँकलनसहित तयारी अवस्थामा रहन निर्देशन दिनुभयो।
निर्वाचन विरोधी तत्वले घरेलु बम वा होक्स राखी त्रास फैलाउने प्रयास गर्न सक्ने उल्लेख गर्दै त्यसअनुसार रणनीति तयार पार्न, सूचना संकलन र विश्लेषणलाई थप सुदृढ बनाउन उहाँले आग्रह गर्नुभयो। मतदान केन्द्रको सुरक्षा, मतपेटिका तथा निर्वाचन सामग्रीको ढुवानीलाई योजना अनुसार चरणबद्ध र सुरक्षित रूपमा गर्नुपर्ने स्पष्ट मार्गनिर्देशन पनि दिनुभयो।
त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. २५ गण हे.क्वा. चण्डिका पर्वतको निरीक्षणका क्रममा उहाँले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीलाई सम्बोधन गर्दै तालिममा सिकेका सीप व्यवहारमा उतार्न र फिल्ड लेभलमा आवश्यक परे माथिल्लो आदेश कुर्नु नपर्ने गरी कानूनले दिएको अधिकार प्रयोग गर्न निर्देशन दिनुभयो।
उक्त अवसरमा गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले निर्वाचन सुरक्षा तयारी तथा हालसम्मको कार्यसम्पादनबारे संगठन प्रमुखसमक्ष ब्रिफिङ प्रस्तुत गर्नुभएको थियो
