पर्वतको पिपलटारीमा ‘तेस्रो मेला तथा कृषि प्रदर्शनी ’ सुरु

कुश्मा, पर्वत

विजयादशमी–२०८३ को पावन अवसरमा कुश्मा नगरपालिका वडा नं. १०, पिपलटारीमा ‘पुर्णेश्वर भुतपुर्व मेला तथा तेस्रो कृषि प्रदर्शनी’ भव्य रूपमा सुरु भएको छ। पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा पूर्व विद्यार्थी पुनर्मिलन, शुभकामना आदान–प्रदान एवम् खेलकुद तथा कृषि प्रदर्शनीसहितको मेलाको भव्य उद्घाटन सत्र सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उप–प्रमुख स्वस्थानी रिजालले युवाहरू वैदेशिक रोजगारका लागि विदेशिइरहेको वर्तमान अवस्थामा स्थानीयस्तरमै गरिएको कृषि प्रदर्शनी निकै लोभलाग्दो र प्रशंसनीय रहेको बताउनुभयो। यस्ता सकारात्मक कार्यहरूमा कुश्मा नगरपालिकाको सधैं पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै उहाँले विजयादशमीको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामचन्द्र सुवेदीले पनि आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो।

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा स्वागत मन्तव्य साथै कार्यक्रमको सञ्चालन समाजका सचिव दामोदर पौडेलले गर्नुभएको थियो। उद्घाटन सत्रमा मेला अवधिभर सञ्चालन हुने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूबारे भलिबल संयोजक प्रकाश थकालीले जानकारी गराउनुभएको थियो।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज