हम्पाल–कालाञ्जर क्षेत्र पछिल्लो समय धार्मिक, पर्यटकीय तथा प्राकृतिक दृष्टिले आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । हरियाली जंगल, डाँडाकाँडा, मनोरम हिमाली दृश्य तथा शान्त वातावरणले भरिपूर्ण यस क्षेत्रले आन्तरिक पर्यटक र श्रद्धालुहरूको ध्यान तान्न थालेको हो ।
धार्मिक तथा पौराणिक महत्व बोकेको कालाञ्जर क्षेत्र उच्च भू–भागमा अवस्थित रहेकाले यहाँबाट बाग्लुङ जिल्ला, गुल्मी जिल्ला, कास्की जिल्ला, स्याङ्जा जिल्ला तथा म्याग्दी जिल्ला आसपासका आकर्षक भू–दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक मनोरमता र हिमाली दृश्यले यस क्षेत्रलाई पदयात्रा, घुमफिर तथा आन्तरिक पर्यटनका लागि उपयुक्त गन्तव्य बनाएको छ ।
यस क्षेत्रमा जैविक विविधता, बहुमूल्य जडीबुटी तथा विभिन्न वनस्पतिको राम्रो सम्भावना रहेको स्थानीयवासी बताउँछन्।् । कृषि, पशुपालन तथा लघु उद्यम सञ्चालनका लागि समेत यो क्षेत्र उपयुक्त मानिएको छ। यहाँ रहेको सिमसार क्षेत्रले वातावरणीय महत्वलाई थप मजबुत बनाएको छ ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले कालाञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्न पालिकाले विशेष प्राथमिकताका साथ काम गरिरहेको छ ।
अध्यक्ष आचार्यका अनुसार २०८२ वैशाख २४ गतेदेखि सञ्चालन भएको श्रीकालाञ्जर महायज्ञ २०८३ वैशाख ३० गतेसम्म एक वर्ष अवधिसम्म सञ्चालन गरिएको थियो । श्रीमुक्तिनाथ बाबाको संकल्पमा सम्पन्न महायज्ञमार्फत कालाञ्जर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विशेषतालाई देशभर परिचित गराउने प्रयास गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।
महायज्ञका क्रममा १०८ वटा श्रीमद्भागवत महापुराण पाठ पारायण समेत सम्पन्न गरिएको थियो । धार्मिक अनुष्ठान, कथा प्रवचन तथा विभिन्न आध्यात्मिक कार्यक्रमले क्षेत्रलाई थप धार्मिकमय बनाएको स्थानीयवासीको भनाइ छ ।
हाल यो क्षेत्रमा पर्वत जिल्लाका मात्रै नभई अन्य जिल्लाका श्रद्धालु तथा पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सम्पदा, धार्मिक आस्था र सांस्कृतिक महत्वको संगमका रूपमा विकसित हुँदै गएको यस क्षेत्रलाई “मृगसरोवर” नामले समेत चिनिन थालेको छ ।
स्थानीय तहले सडक, पदमार्ग, खानेपानी, विश्रामस्थल तथा पर्यटन पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । धार्मिक पर्यटनसँगै प्राकृतिक पर्यटनको सम्भावना बोकेको कालाञ्जर क्षेत्र भविष्यमा गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

