पत्रकारितामा एआई प्रयोगसम्बन्धी तालिम कुस्मामा सम्पन्न

 

पर्वत, बैशाख २७ — पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी तालिम पर्वतको कुस्मा बजारमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको आयोजनामा सञ्चालन गरिएको तालिममा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालय पोखराको सहयोग रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्सालको उपस्थिति रहेको थियो।

तालिमका प्रशिक्षक जीवन भण्डारीले पत्रकारितामा एआईको प्रयोग, समाचार लेखन, सामग्री सम्पादन, तथ्य परीक्षण तथा डिजिटल प्रविधिको प्रभावकारी उपयोगबारे प्रशिक्षण दिएका थिए। उनले आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व र यसको सकारात्मक प्रयोगका विषयमा जानकारी गराएका थिए।

तालिमको अध्यक्षता नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले एआई प्रविधिले पत्रकारितालाई थप प्रभावकारी, छिटो र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताएका थिए।

बैशाख २६ र २७ गते सञ्चालन भएको उक्त तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज