अर्मादी घुम्तीमा ट्रक–मोटरसाइकल दुर्घटना, उपचारकै क्रममा दुई जनाको मृत्यु

 

कुश्मा नगरपालिका–२ स्थित अर्मादी घुम्तीमा आज अपराह्न भएको ट्रक र मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र पछाडि सवार जलजला गाउँपालिका–७ लस्ती निवासी करिब ३२ वर्षीय नारायण रिजाल गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल प्रदेश अस्पताल कुश्मामा उपचारका लागि लगिएको भए पनि साँझ ४:५७ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट मालढुङ्गाबाट प्रहरी सहायक निरीक्षक रेशम सुनारको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज