पर्वत, जेठ २९ ।
फलेवास नगरपालिका–५ खानीगाउँकी सन्तु नेपालीको हत्या प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका स्मृती गहना गृहका सञ्चालक रमेश श्रेष्ठको विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति पर्वत सुनचाँदी व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघद्वारा जारी विज्ञप्तिमा व्यवसायिक कारोबारका क्रममा भएको त्रुटीका कारण अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले श्रेष्ठ प्रहरी हिरासतमा रहेको उल्लेख गर्दै सत्यतथ्य नबुझी विभिन्न माध्यमबाट चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको छ।
संघले घटनासम्बन्धी यथार्थ बुझेर मात्र जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तासँग अनुरोध गरेको छ।
संघका अध्यक्ष बिनोद विक्रम पोखरेल र सचिव कृष्णबहादुर विकले हस्ताक्षर गरेको विज्ञप्तिमा कानुनी प्रक्रियालाई सम्मान गर्दै निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन सबै पक्षलाई आग्रह गरिएको छ।
