“वर्षौँको पीडा अन्त्य: पूर्ण अपाङ्गता भएका वैषलालले पाए आफ्नै जमिन, खुसीका आँसु रोक्न सकेनन्”

 

पर्वत, २७जेठ ।
जीवनभर अरूकै आँगनमा ओत खोज्दै बितेको संघर्षपूर्ण जीवन। शारीरिक रूपमा पूर्ण अपाङ्गता, साथमा ११ वर्षीय नाबालक छोरा र ७५ वर्षीया वृद्ध आमा। आफ्नै भनिने एक टुक्रा जमिनसमेत नहुँदा असुरक्षित भविष्यको चिन्तामा दिन बिताइरहेका मोदी गाउँपालिका–८ का ५२ वर्षीय वैषलाल कामीका लागि अन्ततः आशाको नयाँ बिहानी आएको छ।

वर्षौँदेखि मामाघरमा आश्रित जीवन बिताउँदै आएका वैषलाललाई  जग्गा किन्ने सहयोग जुटे पनि घर बनाउने सहयोग भने जुटाउनुपर्ने छ। राज्यका सम्बन्धित निकायहरूको ध्यान पुग्न नसकेको यो कारुणिक अवस्थाको विषय सार्वजनिक भएपछि पर्वतका कलाकार तथा सामाजिक अभियन्ता आरसी पौडेलको नेतृत्वमा सहयोग अभियान सुरु गरिएको थियो।

पर्वतका क्रियाशील पत्रकारहरूको आह्वान, पर्वत समाज जापानको विशेष आर्थिक सहयोग, सामाजिक अभियन्ता दीपक सुनारको साथ तथा देश-विदेशमा रहेका सहयोगी मनहरूको एकताबद्ध प्रयासले वैषलालको जीवनमा नयाँ आशा भरेको छ। पर्वत समाज जापानका अध्यक्ष राम बास्तोला, पूर्व अध्यक्ष सुवास लामिछाने, सदस्य पवित्रा विकलगायतको सक्रियतामा संकलित रु १ लाख ६० हजार खर्च गरेर मोदी गाउँपालिकाको मल्काहा क्षेत्रमा वैषलालका लागि जग्गा खरिद गरिएको हो।

स्थानीय नन्दलाल पाह्याबाट खरिद गरिएको उक्त जग्गा वैषलाल कामीको नाममा नामसारी गर्ने कानुनी प्रक्रिया पनि अघि बढिसकेको छ। वर्षायाम सुरु हुनुअघि नै आफ्नै घर निर्माणको बाटो खुलेसँगै वैषलाल र उनका परिवारका लागि यो क्षण केवल जग्गा प्राप्तिको खुसी मात्र नभई सम्मानपूर्वक बाँच्ने अधिकार प्राप्तिको अनुभूति बनेको छ।

आफ्नै भनिने एक टुक्रा भूमि पाएपछि भावुक बनेका वैषलालले आँसु झार्दै सहयोगी सम्पूर्ण मनहरू, विशेष गरी नेतृत्वकर्ता आरसी पौडेल र पर्वत समाज जापानप्रति हार्दिक आभार व्यक्त गरे। “अब मेरो छोराले पनि आफ्नै घर भन्ने ठाउँ पाउने भयो,” भन्ने भावनाले उनको आँखाबाट खुसीका आँसु झरेका थिए।

राज्यले समयमै सम्बोधन गर्न नसकेको एउटा मानवीय पीडालाई समाजका संवेदनशील हातहरूले मल्हम लगाएका छन्। यस घटनाले मानवता अझै जीवित रहेको र सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिने सन्देश दिएको छ। अब वैषलालको परिवारले आफ्नै भूमिमा सुरक्षित र सम्मानित जीवनको नयाँ अध्याय सुरु गर्ने विश्वास लिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज