पर्वत। पर्वतको मोदी गाउँपालिकाले कृषिमा यान्त्रिकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले किसानहरूलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर (हलो) वितरण गरेको छ।
गाउँपालिकाको कृषि विकास कार्यक्रमअन्तर्गत आयोजित वितरण कार्यक्रममा विभिन्न वडाका कृषकहरूलाई अनुदानमा मिनी टिलर हस्तान्तरण गरिएको हो। कृषि कार्यलाई सहज, छिटो र कम खर्चिलो बनाउने लक्ष्यका साथ गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
मिनी टिलर वितरणपछि खेतबारी जोत्न लाग्ने समय, श्रम र लागतमा कमी आउने तथा उत्पादन वृद्धि गर्न टेवा पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय कृषि क्षेत्रमा श्रमिक अभाव बढ्दै गइरहेका बेला यान्त्रिक उपकरणले किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ।
कार्यक्रममा सहभागी कृषकहरूले अनुदानमा आधुनिक कृषि उपकरण प्राप्त भएपछि खेतीपाती गर्न थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरेका छन्।
मोदी गाउँपालिकाले कृषिलाई व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यअनुसार आगामी दिनमा पनि किसान लक्षित विभिन्न अनुदान तथा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
