तिलाहारमा पहिलो बोरिङ खानेपानी आयोजना सफल १६० घरधुरी लाभान्वित

तिलाहारमा पहिलो बोरिङ खानेपानी आयोजना सफल
१६० घरधुरी लाभान्वित

 पर्वत, १८ असार —
पर्वतको मोदी गाउँपालिकाले तिलाहार क्षेत्रमा सञ्चालन गरेको बोरिङ प्रविधिमा आधारित पहिलो खानेपानी आयोजना सफल भएको छ । आयोजनामार्फत करिब १६० घरधुरी सुरक्षित खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयका लागि आयोजना राहत बनेको गाउँपालिकाले जनाएको छ । परम्परागत मुहान सुक्दै जानु र जलवायु परिवर्तनका कारण बढ्दो पानी संकटलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको उपयोग गरी आयोजना सञ्चालन पालिकाले जानाकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले ‘एक घर–एक धारा’ अभियानलाई प्राथमिकतामा राखिएको बताउनुभयो । शर्माले तिलाहारमा बोरिङ मार्फत पानी निकाल्न सफल भएको उल्लेख गर्दै उहाँले खानेपानी समस्या भएका अन्य बस्तीमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा यस्ता आयोजना विस्तार गरिने जानकारी दिनुभयो ।

पालिकाका उपाध्यक्ष बिमल लामिछानेले आयोजनाले तिलाहारको दीर्घकालीन खानेपानी समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार प्राविधिक अध्ययनपछि भूमिगत जलस्रोत पर्याप्त रहेको पुष्टि भएपछि बोरिङमार्फत पानी निकाल्ने योजना कार्यान्वयन गरिएको हो ।

गाउँपालिकाका अनुसार बोरिङबाट प्राप्त पानीले वर्षभरि नियमित आपूर्ति गर्न सक्ने भएकाले खानेपानी व्यवस्थापन थप भरपर्दो बन्ने अपेक्षा गरिएको छ । साथै, आगामी वर्षमा खानेपानी संकट रहेका अन्य क्षेत्रमा पनि यस्तै दिगो आयोजना विस्तार गर्ने तयारी गरिएको पालिकाका उपाध्यक्ष लामिछानेले जानाकारी दिनुभयो ।
पहिलो बोरिङ सफल भए सगैँ अव स्थानीयबासीको खानेपानिका लागि घण्टौ धाउनु पर्ने साथै धेरै समय व्यतित गर्नुपर्ने समस्या हटेर गएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज