साउन÷पर्वत ।
पर्वतमा यस वर्ष धान रोपाइँ लक्ष्यको ९५ प्रतिशत मात्रै सम्पन्न भएको छ । समयमै मनसुन सुरु हुन नसक्नु, पर्याप्त वर्षा नहुनु, जनशक्तिको अभाव तथा धान खेतीतर्फको न्यून आकर्षणका कारण जिल्लाभर शतप्रतिशत रोपाइँ हुन नसकेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अनुसार साउनको अन्तिम सातासम्म जिल्लामा करिब ९५ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । यस वर्ष पर्वतमा ७ हजार १६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा ६ हजार ८०२ हेक्टरमा मात्रै रोपाइँ भएको हो । अब रोपाइँको क्षेत्रफल थप बढ्ने सम्भावना नरहेको कार्यालयले जनाएको छ ।
स्थानीय तहअनुसार कुश्मामा ९३ प्रतिशत, फलेवासमा ९४ प्रतिशत, मोदीमा सत् प्रतिशत, जलजलामा ९५ प्रतिशत, महाशिलामा ९५ प्रतिशत, विहादीमा ९५ प्रतिशत र पैयूँमा ९८ प्रतिशत खेतमा रोपाइँ भएको छ ।
कृषि विकास कार्यालयकी बाली संरक्षण अधिकृत सोविता सुवेदीका अनुसार सिँचाइको सुविधा भएका तथा खोलानालाको आसपासका अधिकांश क्षेत्रमा असारको तेस्रो साताभित्रै धान रोपाइँ सकिएको थियो । मकै तथा चैते धान लगाएका र ढिलो रोपाइँ हुने क्षेत्रमा भने अन्तिम समयसम्म रोपाइँ भएको थियो ।
मनसुन सक्रिय नहुँदा जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्र पाङ, नाङ्लीवाङ, कटुवाचौपारी लगायतका ठाउँमा केही कृषकले धान रोप्न नसकेको सुवेदीले बताउनुभयो । मोदी गाउँपालिकामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ भने पैयूँ, फलेवास, विहादी र कुश्माका केही स्थानमा छिटफुट कृषकको खेतमा रोपाइँ बाँकी रहे पनि अब ती खेत बाँझै रहने सम्भावना देखिएको छ ।
पर्वतमा धान खेती हुने कुल क्षेत्रफलमध्ये करिब ४० प्रतिशत क्षेत्रमा मात्रै सिँचाइको प्रबन्ध रहेको छ । सिँचाइ सुविधा भएका क्षेत्रमा पनि सबै समयमा पर्याप्त पानी उपलब्ध नहुने अवस्था रहेको कार्यालयले जनाएको छ ।
पर्वतमा गत वर्ष करिब २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा फलेवास नगरपालिका, पैयूँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा बढी धान खेती हुने गरेको छ ।
यी क्षेत्रमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यू।एस।, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेंले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध तथा हाइब्रिड लगायतका जातका धान लगाउने गरिएको छ ।
