भदौ,११पर्वत ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पर्वतको महाशिला गाउँपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ ।
बाढीपीडितको दुःखमा मल्हम लगाउने उद्देश्यले गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । रकम तत्काल प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावित नागरिकको तत्काल उद्धार, उपचार, पुनःस्थापना तथा खाद्यान्न व्यवस्थापनका लागि ठूलो आर्थिक स्रोत आवश्यक रहेको अवस्थामा पालिकाको तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो । सरकारले समेत बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न अपिल गरिरहेका बेला गाउँपालिकाले सहयोगको निर्णय गरेको जनाएको छ ।
चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरोका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति महाशिला गाउँपालिकाले दुःख व्यक्त गरेको छ । साथै, विपद्मा परेका नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा गाउँपालिकाले आह्वान गरेको छ ।
यसअघि पर्वतको पैंयू गाउँपालिकाका कर्मचारीले बाढीपीडितका लागि तीन दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरिसकेका छन् ।
