भदौ,९पर्वत
पर्वतको बासखर्क भन्नेबित्तिकै धेरैको सम्झनामा आउने प्रमुख कृर्षि उत्पादन हो—सुन्तला । विशेष स्वाद, गुणस्तर र उत्पादनका कारण पहिचान बनाएको बासखर्कको सुन्तलालाई अब भौगोलिक संकेत (जिआई–भौगिक संकेत) मान्यता दिने प्रक्रिया अघि बढाइएको छ ।
बासखर्कको विशेष हावापानी, माटो र उत्पादनको विशिष्ट गुणका आधारमा यहाँ उत्पादन हुने सुन्तलालाई छुट्टै पहिचान दिलाउन जिआई मान्यता प्रदान गर्ने तयारी गरिएको हो । जिआई मान्यताले कुनै निश्चित भौगोलिक क्षेत्रमा उत्पादन हुने वस्तुको विशेष पहिचान र गुणस्तरलाई कानुनी तथा व्यावसायिक रूपमा स्थापित गर्ने गर्दछ ।
जिआईसम्बन्धी कार्यक्रम सोमबार पर्वत सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । कार्यक्रममा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव इन्जिनियर जगन्नाथ तिवारीले जिआई मान्यताले कृषक र स्थानीय उत्पादनलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।
उहाँले नेपालमा कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय उत्पादनको पहिचान र मूल्य अभिवृद्धिका लागि जिआई आवश्यक रहेको धारणा राख्नुभयो । मन्त्रालयको ठूलो हिस्सा कृर्षि उत्पादन र मल व्यवस्थापनमा खर्च हुने गरेको उल्लेख गर्दै उहाँले विशिष्ट उत्पादनको पहिचान स्थापित गरी कृषकको आम्दानी बढाउन जिआई प्रभावकारी हुने बताउनुभयो । जिआई प्रक्रियामा हाल एफएओले प्राविधिक सहयोग गरिरहेको जनाइएको छ ।
बासखर्कमा व्यावसायिक सुन्तलाखेती गर्ने किसानको संख्या बढ्दै गएको छ । यहाँका करिब २५० घरधुरी अन्नबालीको परम्परागत खेतीलाई कम गर्दै व्यावसायिक सुन्तलाखेतीमा आबद्ध भएका छन् । किसानले वार्षिक रूपमा न्यूनतम पाँच लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
बासखर्कमा वार्षिक झण्डै १९ करोड रुपैयाँसम्मको सुन्तला उत्पादन हुने गरेको छ । गत वर्ष यहाँका किसानले करिब १७ करोड रुपैयाँको सुन्तला बिक्रीबाट आम्दानी गरेका थिए । यस वर्ष सुन्तला खेतीको क्षेत्रफल र उत्पादन दुवै बढेकाले २० करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ ।
जिआई मान्यताले बासखर्कको सुन्तलालाई थप व्यवस्थित ब्रान्डिङ गर्न र बजारमा विशिष्ट पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले मन्त्रालयले जिआई मान्यताका लागि बासखर्कको सुन्तला छनोट गर्नु स्थानीय किसानका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । “आजभन्दा पाँच वर्षअघि बासखर्कको सुन्तला बिक्री गर्नसमेत समस्या थियो,” अध्यक्ष आचार्यले भन्नुभयो, “अहिले बासखर्कको सुन्तलाले आफ्नो पहिचान बनाएको छ र देशका विभिन्न सहरमा पुग्न थालेको छ ।”
अध्यक्ष आचार्यले जिआई मान्यताको प्रक्रियासँगै किसानले सुन्तला व्यवसायलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जिआई मान्यताले बासखर्कको मात्र नभई समग्र पर्वत जिल्लाको कृषि पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । स्थानीय विशेषता भएको उत्पादनलाई संरक्षण र प्रवद्र्धन गर्दै बजार मूल्य बढाउन जिआई महत्वपूर्ण माध्यम बन्न सक्ने उहाँको भनाइ छ ।
कतिपय कृषकलाई जिआई अर्थात् भौगोलिक संकेत भनेको थाहा नहुन पनि सक्छ । कुनै निश्चित स्थान वा क्षेत्रमा उत्पादन हुने वस्तुको विशिष्ट गुण, प्रतिष्ठा वा विशेषता त्यसै भौगोलिक क्षेत्रसँग जोडिएको छ भन्ने पहिचान नै जिआई हो । उदाहरणका रूपमा बासखर्कको माटो, हावापानी र उत्पादन प्रणालीले यहाँको सुन्तलालाई अन्य क्षेत्रको सुन्तलाभन्दा फरक स्वाद र गुण प्रदान गर्छ भने त्यस विशिष्टतालाई जिआईमार्फत संरक्षण गर्न सकिन्छ ।
जिआई मान्यताले स्थानीय उत्पादनको नाम र पहिचान संरक्षण गर्नुका साथै ब्रान्डिङ, बजार विस्तार र मूल्य अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल नेपालमा जिआई मान्यताका लागि सीमित उत्पादनलाई प्राथमिकतामा राखिएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका सहसचिव इन्जिनियर जगन्नाथ तिवारीका अनुसार अलैंचीका लागि ताप्लेजुङ र सुन्तलाका लागि पर्वतको बासखर्क जिआई प्रक्रियामा समावेश गरिएका हुन लागेका हुन ।
बासखर्कको सुन्तलाले जिआई मान्यता पाएसँगै पर्वतको कृषि उत्पादनले राष्ट्रियस्तरमा थप विशिष्ट पहिचान पाउने र स्थानीय किसानको उत्पादनले गुणस्तर तथा उत्पत्तिका आधारमा छुट्टै बजार निर्माण गर्ने अपेक्षा गरिएको छ ।
