भदौ २१ कुश्मा, पर्वत —
कुश्मा नगरपालिका–६ मैत्रीचोकबाट ३७ वर्षीया शान्तिकुमारी रिमाल पाध्या बेपत्ता भएकी छन्। राष्ट्रिय बालशिक्षा सदन कुश्मामा कार्यालय सहयोगीका रूपमा कार्यरत पाध्या आइतबार बिहान करिब ६ बजे आफू बस्दै आएको भवनको कोठामा नरहेको पाइएको हो।
उनी हराएको जानकारी बिहान करिब ९ः३० बजे प्रहरीलाई प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको छ।
खोजीका क्रममा कुश्मा नगरपालिका–९ ज्ञादीस्थित पुलमा एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ। उक्त चप्पल बेपत्ता शान्तिकुमारीकै भएको उनका १६ वर्षीय छोरा सन्तोष चापागाईंले सनाखत गरेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान गर्दै सम्भावित क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
