पर्वत, २४ भदौ ।
जेनजी आन्दोलनको क्रममा पर्वत जिल्ला कारागारबाट फरार भएका ६ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १९ जना कैदीबन्दी गत भदौ २४ गते कारागारबाट फरार भएका थिए ।
फरार भएको केही दिनपछि प्रहरीले १३ जना कैदीबन्दीलाई विभिन्न स्थानबाट पुनः नियन्त्रणमा लिएर कारागार चलान गरे पनि बाँकी ६ जना भने एक वर्ष बितिसक्दा पनि सम्पर्कविहीन छन् । फरार रहेकामध्ये चार जना जबर्जस्ती करणी, एक जना सहकारी ठगी र एक जना कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीबन्दी रहेको प्रहरीले जनाएको छ ।
फरार कैदीबन्दीलाई तत्कालीन समयमा सम्पर्कमा आउन आग्रह गरिए पनि उनीहरू सम्पर्कमा नआएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिनुभयो । उहाँका अनुसार फरार कैदीबन्दीलाई सम्पर्कमा ल्याउन प्रहरीले अहिले पनि ताकेता गरिरहेको छ ।
कारागारबाट फरार भएका कैदीबन्दीमाथि थप कारबाहीका लागि सरकारले हालसम्म कुनै निर्णय नगरेको प्रहरीले जनाएको छ । आपराधिक कसुरमा सजाय भुक्तान गरिरहेका कैदीबन्दी समाजमा पुनः प्रवेश गर्दा पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने जोखिम रहेको भन्दै प्रहरीले उनीहरूको अवस्थाबारे जानकारी भए प्रहरीलाई उपलब्ध गराउन नागरिकसँग आग्रह गरेको छ ।
