मंसिर ४, पर्वत ।
सधैँ विद्यालय पोसाकमा कापी, कलम र किताब बोकेर विद्यालय आउने विद्यार्थीहरू शुक्रबार भने फरक पहिचान र उत्साहका साथ देखिए । कसैको हातमा दमाहा थियो, कसैले झ्याली समातेका थिए त कसैले ढोलकी, ट्याक्को र सहनाई बजाउँदै थिए । विद्यालयको कक्षाकोठामा पढाइमा व्यस्त हुने बालबालिका यस दिन पञ्चेबाजाको धुनसँगै आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका थिए ।
यो दृश्य पर्वत सदरमुकाम कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा आयोजित जिल्लास्तरीय बालबालिका समूहको पञ्चेबाजा प्रतियोगिताको हो । विश्व बालदिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय पर्वतले आयोजना गरेको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका विद्यालय तथा बालबालिका समूहको उत्साहजनक सहभागिता रहेको थियो ।
पुस्तौँदेखि नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको पञ्चेबाजाको धुनमा बालबालिकाले बालअधिकारका विषयवस्तु समेटिएका गीत, संगीत र नृत्य प्रस्तुत गरे । उनीहरूको प्रस्तुतिमा मौलिक संस्कृतिप्रतिको आकर्षण मात्रै होइन, बालअधिकार, सहभागिता र आफ्ना भावना अभिव्यक्त गर्ने सिर्जनशील प्रयाससमेत झल्किएको थियो ।
प्रतियोगितामा कुश्मास्थित खरीबोट गोविन्दनाथ देवशर्मा माध्यमिक विद्यालयको समूह प्रथम हुन सफल भयो । नारायण नमुना माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गर्दा जलजला गाउँपालिकाको शालिजा माध्यमिक विद्यालय तृतीय भयो । त्यसैगरी महाशिला गाउँपालिकाको स्वधर्म माध्यमिक विद्यालय, पाखापानीले सान्त्वना स्थान प्राप्त गर्यो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः १५ हजार, १० हजार, ७ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । पञ्चेबाजाका विभिन्न बाजा बजाउने तथा नृत्य प्रस्तुत गर्ने उत्कृष्ट विद्यार्थीलाई विधागत पुरस्कार र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय अधिकारी बद्रीप्रसाद तिवारीले यस्ता बहुआयामिक प्रतियोगिताले बालबालिकामा मौलिक संस्कृतिप्रतिको रुचि बढाउनुका साथै संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए । बालमैत्री शासन व्यवस्था स्थापित गर्न सबै पक्षको एकीकृत पहल आवश्यक रहेको उनको भनाइ थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य इन्द्रमान खत्रीले बालबालिकाको प्रतिभा, संस्कृति र अधिकारलाई पञ्चेबाजाको धुनमार्फत उजागर गर्ने कार्यक्रमले सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शिक्षा उपसचिव राजेन्द्र क्षेत्रीले बालबालिकाको सहभागिता केवल सांस्कृतिक प्रस्तुति मात्र नभई आफ्ना अधिकार, आवाज र प्रतिभा संगीतका माध्यमबाट अभिव्यक्त गर्ने सुन्दर अवसर भएको बताए ।
एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलले मौलिक संस्कृतिको पुस्तान्तरण र संरक्षणसँगै गायन तथा पञ्चेबाजाको माध्यमबाट बालबालिकाको अधिकार, आवाज र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८९ नोभेम्बर २० मा बालअधिकारसम्बन्धी महासन्धि पारित भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर २० तारिखमा विश्व बालदिवस मनाइन्छ । बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र विकासका विषयलाई प्राथमिकता दिँदै मनाइने यस दिवसका अवसरमा पर्वतमा आयोजित पञ्चेबाजा प्रतियोगिताले बालबालिकालाई आफ्नो मौलिक संस्कृति सिक्ने, जोगाउने र त्यसैमार्फत आफ्ना आवाज बुलन्द गर्ने अवसर प्रदान गरेको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोकदोहोरी गायक चोलेन्द्र पौडेल, लोकदोहोरी गायक एवं सर्जक कृष्ण अखेली र संगीतकर्मी रमेश परियार रहेका थिए ।
जिल्ला बाल सञ्जाल पर्वतका अध्यक्ष दिप्सन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश बाल परिषद्का अध्यक्ष कृषा तिवारी, बालक्लब सञ्जाल जिल्ला सदस्य प्रतिमा जिसी तथा सञ्चारकर्मी लक्ष्मण विकले गरेका थिए ।

