तयार भए परिचय पत्र लिन आएनन् सेवाग्राही

 

पर्वत, मंसिर १० ।

राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढ्दै गए पनि पर्वतमा तयार भएका हजारौँ परिचयपत्र भने सेवाग्राहीको प्रतीक्षामा जिल्ला प्रशासन कार्यालयमै थन्किएका छन् । विवरण दर्ता गराएर परिचयपत्र तयार भइसके पनि सम्बन्धित व्यक्ति लिन नआउँदा करिब १० हजार थान परिचयपत्र लामो समयदेखि कार्यालयको दराजमा राख्नुपरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा पछिल्लो पटक २०८० भदौमा २६ हजार २०० थान राष्ट्रिय परिचयपत्र प्राप्त भएको थियो । त्यसयता नयाँ परिचयपत्र कार्यालयमा आइपुगेका छैनन् , प्राप्त भएकामध्ये १६ हजार २०० थान वितरण भइसकेका छन् भने बाँकी १० हजार थान अझै सेवाग्राहीले बुझ्न आएका छैनन ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म पर्वतमा एक लाख १३ हजार जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराइसकेका छन् तर, परिचयपत्र तयार भएर कार्यालयमा आइपुग्दा पनि सम्बन्धित व्यक्ति उपस्थित नहुँदा वितरण हुन नसकेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर विदुर सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार राष्ट्रिय परिचयपत्र बुझ्नका लागि सम्बन्धित व्यक्ति स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था छ । परिचयपत्र लिने क्रममा विवरण दर्ता गर्दाको दस्तखत र बायोमेट्रिक विवरण पुनः रुजु गरिन्छ । प्रणालीबाट विवरण मेल खाएको पुष्टि भएपछि मात्रै परिचयपत्र हस्तान्तरण गरिन्छ ।
परिचयपत्र लिन नआउनुको प्रमुख कारण वैदेशिक रोजगारी पनि हुन सक्ने कार्यालयको अनुमान छ । विवरण दर्ता गराएका धेरैजसो व्यक्ति रोजगारीलगायत विभिन्न प्रयोजनका लागि विदेश गइसकेकाले परिचयपत्र लिन उपस्थित हुन नसकेको हुन सक्ने कम्प्युटर अपरेटर सापकोटाले बताउनुभयो ।
परिचयपत्र तयार भएपछि सम्बन्धित व्यक्तिलाई मोबाइल नम्बरमार्फत जानकारी गराउने व्यवस्था पनि रहेको छ । कार्यालयबाट सूचना प्राप्त भएपछि सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी आफ्नो परिचयपत्र बुझ्न सक्नेछन् । यसैबीच,

कार्यालयले परिचयपत्र तयार भइसकेका व्यक्तिलाई जानकारी गराउने र वितरणका लागि आग्रह गर्ने काम गरिरहेको जनाएको छ। त्यसैले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइसकेका तर परिचयपत्र नबुझेका व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी आफ्नो परिचयपत्र बुझ्न सक्नेछन्।

सम्बन्धित समाचार

ताजा न्यूज