१५ बैशाख । कुश्मा, पर्वत ।
यही बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा के कस्ता शैक्षिक सवालहरुमा उम्मेदवार र तिनले प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुले प्रतिबद्धता ब्यक्त गर्न आवश्यक छ भन्ने बारेमा शिक्षा अभियानकर्मी र युवाहरुका बीचमा बहश कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२२ को सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतको आयोजनामा अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका बक्तासहितका सहभागीहरुले संबैधानिकरुपमा स्वीकार गरिएको अनिवार्य र निशुल्क माध्यमिक तहसम्मको शिक्षाका प्रति स्थानीय सरकारहरु प्रतिबद्ध हुनुपर्ने र समावेशी तथा समतामूलक शिक्षाको सुनिश्चिता गर्न कुनै कसर बाँकी राख्न नहुने कुरामा जोड दिए । बक्ताहरुले विद्यालय तहको शिक्षाको सम्पूर्ण ब्यवस्थापनको अधिकार स्थानीय सरकारको भएकाले आसन्न निर्वाचनमा प्रतिष्पर्धा गर्ने उम्मेदवारहरुले आफ्ना प्रष्ट शैक्षिक योजनासहित मतदातासँग भोट माग्न जानुपर्ने औंल्याए । कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि विनियोजन गर्ने बाध्यकारी ब्यवस्था गर्न सकेमात्र सार्वजनिक शिक्षालाई गुणस्तरीय र सबैको पहुँचयोग्य बनाउन सकिने उनीहरुले तर्क गरे । मतदाताहरुले पनि सार्वजनिक शिक्षाको गुणस्तरीयता अभिबृद्धि गर्ने स्पष्ट योजना र खाका प्रस्तुत गर्ने उम्मेदवारलाई मात्र आफ्नो मत दिन पनि अधिकांश बक्ताहरुले अनुरोध गरेका थिए ।
कार्यक्रममा एनसिई नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले नेपालको सार्वजनिक शिक्षाको समग्र सवलीकरण किन आवश्यक छ ?, शिक्षा क्षेत्रको वर्तमान अवस्था कस्तो छ ? र अबको शैक्षिक कार्यदिशा कस्तो हुनुपर्दछ ? लगायतका विषय समेटेर विषयगत कार्यपत्रसहितको प्रस्तुतीकरण गरेका थिए भने गैसस महासंघका केन्द्रीय सदस्य जगन्नाथ शर्मा, कोक्यापका राष्ट्रिय उपाध्यक्ष पुष्प भुसाल, नेल्टा पर्वतका अध्यक्ष देव शर्मा, शिक्षक चौतारीका अध्यक्ष आनन्द पौडेल, एकनारायण चालिसे, फुलराज शर्मा लामिछाने, समीक्षा पोखरेल, विधि सेन्चुरीलगायतले आफ्नो मन्तब्य राखेका थिए ।
स्मरणीय छ, शिक्षाका लागि विश्वब्यापी कार्यसप्ताह विश्वब्यापी रुपमा शिक्षाका प्रति सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्न विभिन्न कार्यक्रमहरु आयोजना गरी दबाब सिर्जना गर्ने एक साझा अभियान हो । यस वर्ष पनि विश्वब्यापीरुपमा अप्रिलको २४ देखि २९ तारिखसम्म यस कार्यसप्ताहलाई विश्वब्यापीरुपमा संचालन गरिएको छ । यसपटकको विश्वब्यापी नारा विपदको शिक्षालाई सुरक्षित गर भन्ने रहेको एनसिई पर्वतका सदस्य समेत रहेका गैसस महासंघका केन्द्रीय सदस्य जगन्नाथ शर्माले जानकारी दिनुभयो ।
एनसिई पर्वतका सदस्य फुलराज शर्माले दिनुभएको जानकारीअनुसार एनसिई पर्वतले यस सप्ताह अन्तरगत जिल्लाका प्रमुख राजनैतिक दलहरुलाई आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्रमा समावेश गरिनुपर्ने शैक्षिक सवालहरु समेटेर ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको, सामाजिक संजालमार्फत शैक्षिक विषय समेटिएका इन्फोग्राफिक्स सार्वजनिक गरेको, एनसिई केन्द्रले उत्पादन गरेका प्रचारात्मक सामग्रीहरुलाई ब्यापकता दिनेलगायतका क्रियाकलाप गर्दै आइरहेको जानकारी दिनुभयो ।