शिविरको पहिलो दिनमा नै करिव पाँच सय जनाको स्वास्थ्य जाँच

पर्वत-

पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा आइतवार देखि सुरु भएको शिविरमा पहिलो दिन नै ४ सय ९४ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । एक्सरे, ईसिजी, सर्जरी, सामान्य शल्यक्रिया, हाडजोर्नी, मनोरोग, युएसजी, छाला सम्वन्धी, दन्त रोग, आँखा, ग्याष्ट्रीक लगायतको विभाग गरी झण्डै ५ सय जनाको चेकजाँच गरिएको हो ।
आइतवार देखि संचालन भएको तीन दिने निशुल्क स्वास्थ्य शिविरको पूर्व स्वास्थ्य मन्त्री तथा सांसद पदम गिरीले उद्घाटन गर्नुभएको छ ।

शिविरको उद्धाटन समारोहमा बोल्दै पूर्व मन्त्री गिरीले दुरदराजमा आर्थिक अभावका कारण उपचार गर्न नसकेर रोग लुकाएर बस्न बाध्य नागरिकहरुका लागि यो शिविर ठुलो अवसर भएको बताउनुभयो । गिरीले निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी दिवसको अवसर पारेर शिविर संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै सवै नागरिकले आफ्नो स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नुभयो । रोगले च्यापेपछि मात्र उपचार गर्न जाने प्रचलन रहेको बताउँदै उहाँले स्वस्थ्य देखिने व्यक्तिले समेत शिविरमा शरीरिको सवै भागको परिक्षण गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा निजामती कर्मचारी अस्पतालका कार्यकारी प्रमुख विधाननिधि पौडेलले अस्पतालको बार्षिक कार्यक्रम अनुसार आफ्नो जन्मठाउँ र अध्ययन गरेको ठाउँका नागरिकहरुको स्वास्थ्य अवस्था सुधार गर्ने उद्धेश्यले शिविर संचालन गरिएको बताउनुभयो । उहाँले बढि भन्दा बढि नागरिक सहभागि भएर आफ्नो स्वास्थ्य लाभ लिन समेत आग्रह गर्नुभयो । महिला २ सय ८६ र पुरुष २ सय ८ जनाको परिक्षण गरिएको हो । सवैजसो रोगका विषेशज्ञ डाक्टरहरु शिविरमा आएको बताउँदै यहाँ उपचार हुन असम्भव विरामीलाई पोखराका विभिन्न अस्पताल र काठमाण्डौमै लगेर निजामती कर्मचारी अस्पतालमा उपचार गरिने समेत जानकारी दिनुभयो ।

सो अवसरमा कुश्मा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले स्वागत गर्नुभएको थियो । उहाँले आफ्नो ठुलो मेहनतवाट शिविर संचालन गर्न सफल भएको बताउँदै यसवाट सवैले लाभ लिन आग्रह गर्नुभयो । उहाँले पूर्व स्वास्थ्य मन्त्री गिरी समक्ष ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक जनशक्ति र उपकरण माग गर्दै माग पत्र समेत बुझाउनुभएको थियो । पूर्व मन्त्री गिरीले उक्त माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी,उप-प्रमुख स्वस्थानी रिजाल लगायत वार्ड अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज