कुश्मा,१३÷कार्तिक
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले नेकपा एमालेले इतिहासका कठिन परिस्थितिमा पनि कसैप्रति लम्पसार नपरेको बताउनुभएको छ
नेकपा एमाले कुश्मा नगरकमिटिको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै गिरीले नेपालमा भएका विभिन्न परिस्थितीमा पनि देश र जनताको पक्ष उभिएको बताउनुुभएको हो । गिरीले नेपाली जनता र देशको स्वाधिनताको निम्ति काम गर्ने पार्टि नेकपा एमाले मात्रै रहेको जिकिर गर्नुभयो ।
उहाँले नयाँ दलहरु खुलेको डेढ दुई वर्षमै काण्डै काण्डमा मुछिएको पर्दाफास हुँदै गएको बताउँदै अबको आठ दश वर्षपछि यिनिहरुको अस्तित्व नै नरहने दावी गर्नुभयो । उहाँले छानविनका लागि रबि लामिछानेलाई राज्यले नियन्त्रणमा लिदा उक्त पार्टीले सडकमा अराजकता मच्चाएको बताउनुभयो । मुलुक निर्माणमा योगदान नभएका र नेपालमा जरा नभएका दलहरुको भविष्य नरहेको उहाँको भनाई छ ।
पुर्व मन्त्री समेत रहनुभएका गिरीले मुलुक आर्थिक रुपमा सवल बन्दै गएको बताउनुभयो । भुकम्प, कोभिड लगायतका कारणले मुलुक नराम्ररी आर्थिक संकटमा फसेको बताउँदै वर्तमान सरकार आएलगत्तै लयमा फर्किएको बताउनुभयो । उहाँले मुलुकको समृद्धिका लागिनै दुई ठुला दल एमाले र काँग्रेसको सहकार्यमा सरकार बनेको बताउनुभयो । मुलुकलाई संकटवाट जोगाउन अहिलेको समिकरण सक्षम रहेको उहाँको भनाई छ ।
गिरीले कुश्मा नगरपालिकाको आगामी नेतृत्व सहमतिका साथ चयन गर्न आग्रह गर्नुभयो । नेकपा एमालेका अघि आएका थुप्रै कार्यभार कुशल रुपमा सम्हाल्नका लागि सम्पुर्ण कार्यकर्तालाई एकजुट बनाउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै सहमति र सहकार्यमा जोड दिईने उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले पर्वतका अग्रज नेता गणेश शर्मा पौडेल, गण्डकी प्रदेश कमिटिका उपसचिब मञ्जु अधिकारी, नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष गोबिन्द पहाडी लगायतले सम्वोधन गर्नुभएको थियो । नेकपा एमाले कुश्मा नगरकमिटीका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसचिब स्वस्थानी रिजाल र संचालन सचिब गणेश पौडेलले गर्नुभएको थियो । उद्घाटन सत्रपछि बन्दसत्र शुरु भएको छ । सहमति बाटै अधिबेशन सम्पन्न गर्न पदम गिरी संयोजक रहनेगरी १० सदस्य समितीको अध्यक्ष मण्डल समेत गठन भएको छ ।

