दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो ७०० रुपैयाँदेखि ८०० रुपैयाँसम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन् ।
अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हाल हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताए । “मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु । अहिले हप्तामा १४र१५ किलो उत्पादन दिन थालेको छ”, उनले भने, “जिल्लामा अकबरे खुर्सानीको माग राम्रो छ । आगामी दिनमा बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने योजनामा छु ।”
दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका कृषकले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ । व्यावसायिक तरकारी खेती गर्ने सीमित कृषकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।
