विदेशको पर्दा च्यातौं

फलेवास नगरपालिका–१०, कुर्घाका स्यान दाइ झन्डै ५/७ महिना अघि आफ्ना दुई साना सन्तान, धर्मपत्नी र वृद्ध आमाबुबालाई छोडेर परदेशिए। परिवारको खुसी, आशा र विश्वासको मेरुदण्डझैं बनेका उनी आफ्ना सन्तानको उज्ज्वल भविष्य र परिवारलाई आर्थिक सहजता दिलाउने सपना बोकेर बिदेशी भूमिमा पाइला टेके। वरपरका दाजुभाइहरू परदेशमा सानो तिनो प्रगति गर्दै गरेको देख्दा उनलाई पनि विदेश जानैपर्ने बाध्यता महसुस भयो, यद्यपि उनले स्वदेशमै बसेर परिवारसँगै बसेर राम्रो कमाइ गरेका थिए।

तर, परदेश पुगेपछि उनलाई यथार्थको कडो घामले पोल्न थाल्यो। न त्यहाँको काम नेपालको कल्पनाजस्तै सजिलो रह्यो, न त आम्दानी नै सोचेजस्तो। दलाललाई तिरेको ५–७ लाख ऋण, चर्को तापक्रम, अर्काको भाषा र नियममा बाँधिएर गरिने पीडादायी श्रम—यी सबैले उनलाई मानसिक र शारीरिक रूपमा थिच्न थाल्यो। दुःख त झन यो हो कि न त उनले यो पीडा बाआमा वा पत्नीलाई भन्न सक्छन्, न त फर्कने आँट गर्न सक्छन्। सामाजिक सञ्जालमा देखिने चम्किला तस्वीरहरू पछाडि लुकेको पीडा यथार्थको पर्दा हो, जसलाई च्यातेर हेर्ने हिम्मत भने कमैमा हुन्छ।

नेपालमा सम्भावनाको कुनै कमी छैन—चिया बेचेरै पनि लाखौं नागरिकले परिवार पाल्न सक्ने देश हो यो। तर विडम्बना, सरकारको मौनता, बेरोजगारी, र अव्यवस्थित योजनाले गर्दा लाखौं युवाहरू बिदेशमा श्रम बेच्न विवश छन्। अब आवश्यकता छ, हाम्रा नेताहरूले यथार्थ बुझेर देशभित्रै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने। ताकि हाम्रा सन्ततीले पनि आफ्नै देशमा परिवारसँग रमाउन सकून्, हाम्रा सपना स्वदेशमै साकार होउन्।

— बुद्ध पौडेल
फलेवास नगरपालिका–१०, कुर्घा (हाल जापान)

सम्बन्धित समाचार

ताजा न्यूज