पर्वत, २९ चैत २०८२ — “यात्रा एक खोज अनेक” भन्ने मूल नारासहित पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ पर्वत शाखाको टोलीले दुई दिने पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।
पदयात्रा पर्वतको जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संगमस्थल, समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा अवस्थित मनमोहक जलजला क्षेत्रबाट सुरु भई कालान्जर, हम्पाल लेक, माटेको लेक, डाँडाकमेरे, भमरकोट, भुकदेउराली, लप्सीबोट हुँदै कास्कीको बिरेठाटी, नयाँपुल, पर्वतको डिमुवा पार गर्दै मोदी–८ चित्रेगाउँसम्म पुगेर सम्पन्न भएको हो।
कार्यक्रममा पर्वत जिल्लामा क्रियाशील पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। दुई दिनसम्म गरिएको यस पदयात्राको मुख्य उद्देश्य ओझेलमा परेका प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रचार–प्रसार तथा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।
पदयात्राका क्रममा सहभागीहरूले जलजला र कालान्जर क्षेत्रका रमणीय डाँडाकाँडा, विविध रङ्गका लालिगुँरासले ढाकिएका वन, हरियाली वातावरण र प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए। विशेषगरी कालान्जर क्षेत्रमा फुलेका विभिन्न प्रजातिका लालिगुँरासले यात्रालाई अझ आकर्षक बनाएको सहभागीहरूले बताएका छन्।
यस क्षेत्र प्रकृतिसँग रमाउन चाहने पर्यटकहरूका लागि अत्यन्त उपयुक्त गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना देखिएको छ। यात्राका लागि सहज पदमार्ग, प्राकृतिक दृश्यावलोकन तथा व्यवस्थित बासस्थानको सुविधा समेत उपलब्ध भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सहभागीहरूको निष्कर्ष रहेको छ।
नेपाल पत्रकार महासंघ पर्वतले यस्ता गतिविधिमार्फत जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै सम्बन्धित निकायलाई यस क्षेत्रको पूर्वाधार विकास, प्रचार–प्रसार तथा संरक्षणमा ध्यान दिन आग्रह गरिएको छ।

