पर्वत , १२ जेठ
पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या बढ्दै गएको विषय अहिले संसदसम्म पुगेको छ । गत फागुनमा भएको निर्वाचनमा बाँदर नियन्त्रणलाई मुख्य एजेण्डा बनाएका पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर भुसालले समस्या समाधानका लागि दीगो योजना आवश्यक रहेको बताएका छन् ।
सांसद भुसालले आफुले समितिको बैठकमा मात्र होइन प्रधानमन्त्रीसगँ समेत यो बिषयलाई उठाएर दिगो समाधान गर्ने बाटोमा आफु लागेको पर्वतमा भएको पत्रकार भेटघाट कार्यक्रममा बताएका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रमा अन्नबाली जोगाउन स्थानीयले भाडाँकुडा बजाउने, गुलेली चलाउने लगायतका उपाय अपनाउँदै आएका छन् । तर प्रभावकारी समाधान ननिस्किँदा धेरै खेतीयोग्य जमिन बाँझै बस्न थालेको छ । बाँदर आतंकका कारण खेती गर्नै कठिन बनेको कृषकहरूको गुनासो छ ।
यसअघि महाशिला गाउँपालिका ले करिब ३० लाख रुपैयाँ खर्च गरेर पाँच सयभन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्ज मा छोडेको थियो । तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो ।
यस्तै कुश्मा नगरपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका र मोदी गाउँपालिका ले बस्ती र खेतबारी आसपासका रुखबिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण प्रभावकारी बन्न सकेको छैन ।
स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र होइन, घरमा समेत बस्न नदिने अवस्था सिर्जना गरेको छ । कृषकहरूका अनुसार बाँदर आतंकसँगै युवा पलायन र कृषिमा यान्त्रिकीकरण नहुँदा खेतीपाती झन् कठिन बनेको छ ।
कृषि विकास कार्यालय पर्वत का प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा २८ हजार पाँच सय २ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच हजार दुई सय ४४ हेक्टर जमिन बाँझो रहेको छ । जिल्लामा नौ हजार ७० हेक्टरमा सिँचाइ सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा कार्यालयले जनाएको छ ।
वन्यजन्तु नियन्त्रण, कृषिको आधुनिकीकरण, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति र दीगो आम्दानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने चिन्ता व्यक्त गरिएको छ ।
