पर्वत, जेठ २६ – पर्वत जिल्लामा सुनका गहना लुट्ने उद्देश्यले एक महिलाको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले घटनामा लुटिएका गहनामध्ये केही खरिद गरेको आरोपमा एक सुन व्यवसायीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बागलुङको जैमिनी नगरपालिका–७ बिनामारे स्थायी घर भई हाल पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा बस्दै आएकी ५२ वर्षीया सन्तु नेपाली आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। जेठ ८ गते बिहान घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा फलेवास नगरपालिका–५ खानीगाउँ निवासी २८ वर्षीय कुशल पुरी घटनामा संलग्न रहेको खुल्न आएको हो। मृतकसँग परिचित रहेका पुरी घटना भएको राति करिब ११ बजेसम्म मृतकसँग बसेर रक्सी, चुरोट तथा मासु खाएको र त्यसपछि घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले जनाएको विवरणअनुसार पुरी राति पुनः मृतकको घर पुगेका थिए। उनले मृतकले लगाएका सुनका गहना लुट्ने उद्देश्यले आफ्नी श्रीमतीको नक्कली सुनको सिक्री साथमा लिएर गएको र घर पुगेपछि कोदालोको पछाडिको भागले टाउकोमा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
हत्यापछि मृतकको घाँटीमा रहेको सुनको सिक्री, कानका १० वटा सुनका मुन्द्रा निकालेर लगेका थिए। लुटिएको सुनको सट्टा नक्कली सिक्री मृतकको घाँटीमा लगाइदिएको तथा घटनालाई अन्यत्र मोड्न प्रयास गरेको प्रहरीको दाबी छ।
घटनापछि प्रमाण लुकाउन अभियुक्तले मृतकको कोठामा रहेको मोबाइल फोन जलेको चुलोमा हालेर नष्ट गर्ने प्रयास गरेको, कोठाभित्र रहेको खरानी अण्डा राख्ने खाली क्यारेटमा बोकेर बाहिर फालेको तथा प्रयोग गरिएको कोदालो मृतककै फर्निचरमा लुकाएको अनुसन्धानबाट खुलेको छ।
घटनापछि फरार रहेका कुशल पुरीलाई प्रहरीले जेठ १२ गते बिहान पर्वतको मोदी गाउँपालिका–५ पातीचौरस्थित एक होटलबाट पक्राउ गरेको थियो। खानतलासीका क्रममा मृतकले लगाउने ८ वटा सुनका मुन्द्रा समेत बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा लुटिएका गहनामध्ये एक सुनको सिक्री र दुई वटा सुनका मुन्द्रा पर्वतको कुश्मा नगरपालिका–५ स्थित सुनचाँदी व्यवसायी रमेश कुमार श्रेष्ठ लाई बिक्री गरिएको खुलेको छ। त्यसपछि श्रेष्ठको घर तथा व्यवसायिक प्रतिष्ठानमा गरिएको खानतलासीमा ती गहना बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कुशल पुरीविरुद्ध कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ भने रमेश कुमार श्रेष्ठमाथि लुटिएका गहना खरिद गरेको अभियोगमा अनुसन्धान भइरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
