असार १३ , पर्वत —
स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी बनाउने तथा मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोदी गाउँपालिकाको आयोजनामा दुईदिने मेलमिलापकर्ता तालिम शनिबारदेखि सुरु भएको छ।
गाउँपालिकाका विभिन्न वडामा कार्यरत मेलमिलापकर्ता तथा जनप्रतिनिधिहरू सहभागी रहेको तालिमको सहजीकरण वकालत मिडिया प्रा.लि. ले गरिरहेको छ। तालिममा अधिवक्ता दिलिप पौडेल मुख्य सहजकर्ताका रूपमा प्रशिक्षण दिइरहनुभएको छ।
तालिमको उद्घाटन सत्रको अध्यक्षता नन्दमाया पुन ले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा ले स्थानीय तहमा उत्पन्न हुने विवादको छिटो, सहज र न्यायोचित समाधानका लागि मेलमिलाप प्रणाली प्रभावकारी माध्यम भएको बताउनुभयो। दक्ष र सक्षम मेलमिलापकर्ताले समुदायमा न्यायमा सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
उहाँले तालिमले मेलमिलापकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धि हुनुका साथै समुदायमा शान्ति, सद्भाव र आपसी विश्वास कायम गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष विमल लामिछाने ले मेलमिलाप संस्कृतिको विकासले स्थानीय स्तरमा हुने साना–ठूला विवाद अदालतसम्म पुग्नुअघि नै समाधान गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले समुदायमा सहकार्य, सद्भाव र समझदारीको वातावरण निर्माण गर्न दक्ष मेलमिलापकर्ताको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै तालिमले न्याय सम्पादन प्रक्रियालाई अझ प्रभावकारी, सहज र विश्वसनीय बनाउन मद्दत पुग्ने धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन वकालत मिडिया प्रा.लि. का सन्तोष थापा ले गर्नुभएको थियो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, विवाद व्यवस्थापन, प्रभावकारी संवाद सीप, मध्यस्थता प्रक्रिया, वार्ता तथा व्यवहारिक अभ्यास लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
गाउँपालिकाका अनुसार तालिमले मेलमिलापकर्ताहरूको ज्ञान, सीप र व्यवहारिक दक्षता अभिवृद्धि गरी स्थानीय स्तरमै विवादको शान्तिपूर्ण, दिगो र न्यायोचित समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, समुदायमा मेलमिलापको संस्कृतिलाई थप सुदृढ बनाउँदै न्यायमा नागरिकको सहज पहुँच विस्तार गर्न पनि तालिम फलदायी हुने विश्वास गरिएको छ।
