पर्वत, असार २१ –
कुश्मा नगरपालिका–२ खुर्कोटस्थित सत्य महाकाली भगवती मन्दिर नजिक निर्माणाधीन सडकको विषयमा स्थानीय सरोकारवालाबीच सहमति जुटेसँगै निर्माण कार्य अघि बढाइएको छ ।
अमलाबुटामुनीदेखि धनसारेसम्म सडक निर्माणका क्रममा मन्दिर क्षेत्रको जग्गा पर्ने विषयमा स्थानीय तहमा छलफल भएको थियो। त्यसपछि वडा कार्यालयको समन्वयमा सडकको रेखांकन समायोजन गरी मन्दिर तथा निजी जग्गामा समान प्रभाव पर्ने गरी निर्माण अघि बढाउने सहमति भएको वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले जानकारी दिए ।
उनका अनुसार वर्षायाम र सीमित बजेटका कारण पानी निकास तथा जोखिम व्यवस्थापनमा चुनौती रहे पनि आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरी आवश्यक काम पूरा गर्ने योजना रहेको छ ।
मन्दिर व्यवस्थापन समितिका सचिव ठाकुरबहादुर क्षेत्रीले पनि आपसी सहमतिअनुसार सडक निर्माण अघि बढेको बताउँदै निर्माणसँगै मन्दिरको गरिमा र पानी निकास व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने धारणा राखे ।
