पर्वत, साउन १३ — पर्वतको कुश्मा नगरपालिका–४ माझमेला स्थित पोखरा–बागलुङ सडक खण्डमा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँझ करिब ४:५० बजे बागलुङबाट पोखरातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४७६ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकको दाहिने किनारतर्फ पल्टिएको हो।
दुर्घटनामा जिपमा सवार बागलुङको ढोरपाटन नगरपालिका–८ सेराबान निवासी २१ वर्षीय सन्देश घर्ती घाइते भएका छन्। उनको दाहिने काँधमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। घाइते घर्तीको अवस्था मध्यम रहेको र प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ।
प्रहरीका अनुसार जिपमा चालकसहित ८ जना सवार थिए। घाइते बाहेक अन्य ७ जना सकुशल रहेका छन्।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ७ सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको तथा चालक बागलुङको निसीखोला गाउँपालिका–२ निवासी ३४ वर्षीय ओमप्रकाश विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
