पर्वत, साउन १५ —
पर्वतको कुश्मामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्र्कीले कृर्षि उत्पादन बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वत, कृषि विकास कार्यालय पर्वत तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङले संयुक्त रूपमा आर्थिक वर्ष २०८२र८३ को सार्वजनिक सुनुवाइ तथा आर्थिक वर्ष २०८३र८४ को स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका मन्त्री कार्कीले किसानलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न भएका कार्यक्रम, उपलब्धि तथा आगामी आर्थिक वर्षका स्वीकृत योजना र कार्यक्रमबारे जानकारी गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भीमबहादुर कार्र्कीले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, व्यवसायीकरण तथा किसानमैत्री कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकारी अनुदान, प्रविधि र सेवाको प्रत्यक्ष लाभ वास्तविक कृषकसम्म पुग्ने गरी योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले कृषि क्षेत्रलाई व्यवस्थित बनाउन भूमि बैंकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिका नाममा अनुदान दुरुपयोग हुन नदिन वास्तविक कृषक र गैरकृषकको स्पष्ट पहिचान गर्नुपर्ने आवश्यकता औँल्याउँदै नयाँ कृषकलाई उत्पादनमुखी बनाउन लक्षित अनुदान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिकले कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय आवश्यकताअनुसारका कृषि कार्यक्रम सञ्चालन गर्दै किसानको आयआर्जन वृद्धि हुने योजना कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कृषि, पशुपालन तथा कृषि आधुनिकीकरणसँग सम्बन्धित सरकारी निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, किसान, कृषि सहकारी, सरोकारवाला संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइमार्फत आगामी बर्ष हुने कृषि क्षेत्रका कार्यक्रम सार्वजनिक गरिएको थियो ।

