पर्वत । स्थानीय उत्पादनको पहिचान, संरक्षण, गुणस्तर कायम र बजार प्रवर्द्धनका लागि भौगोलिक सङ्केत (GI) सम्बन्धी सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार कुस्मामा सम्पन्न भएको छ।
कार्यक्रममा भौगोलिक सङ्केतले कुनै निश्चित भौगोलिक क्षेत्रसँग जोडिएको उत्पादनको विशेष पहिचान स्थापित गर्ने विषयमा जानकारी दिइएको थियो। स्थानीय भूगोल, परम्परागत ज्ञान, सीप, संस्कृति तथा उत्पादन विधिसँग सम्बन्धित विशिष्ट उत्पादनलाई GI मार्फत पहिचान र कानुनी संरक्षण दिन सकिने बताइएको थियो।

छलफलका क्रममा नेपालमा समावेशी उत्पादनअन्तर्गत रैथाने तथा स्थानीय उत्पादनको पहिचान गरी तिनको मूल्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिइयो। भौगोलिक सङ्केतले उत्पादनको छुट्टै पहिचान स्थापित गर्नुका साथै गुणस्तर सुधार, उपभोक्ताको विश्वास अभिवृद्धि र बजार विस्तारमा समेत सहयोग पुग्ने सरोकारवालाहरूले बताएका छन्।
GI प्राप्तिका लागि विशिष्ट उत्पादनको नाम, स्पष्ट उत्पादन पहिचान, निश्चित भौगोलिक क्षेत्र, उत्पादन र सो क्षेत्रबीचको प्रमाणित सम्बन्ध तथा साझा मापदण्ड र नियन्त्रण प्रणाली आवश्यक पर्ने जानकारी कार्यक्रममा दिइयो।
यसका साथै GI ले स्थानीय उत्पादनको ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न मद्दत पुग्ने बताइएको छ। विशेषगरी कृषि तथा परम्परागत उत्पादनको संरक्षण, स्थानीय समुदायको आम्दानी वृद्धि, पर्यटन क्षेत्रको प्रवर्द्धन तथा स्थानीय सीप र संस्कृतिको जगेर्नामा भौगोलिक सङ्केत प्रभावकारी माध्यम बन्न सक्ने विषयमा समेत चर्चा गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले कुनै एक व्यक्ति वा कम्पनीले मात्र नभई तोकिएको क्षेत्रका मापदण्ड पूरा गर्ने योग्य उत्पादक समूह तथा संस्थाले सामूहिक रूपमा GI प्रयोग गर्न सक्ने व्यवस्था रहेको जानकारी लिएका थिए। यसका लागि उत्पादकबीच सहकार्य, नियम तथा मापदण्डको पालना, गुणस्तर नियन्त्रण र बजार प्रवर्द्धनमा साझा जिम्मेवारी आवश्यक हुने बताइएको थियो।
छलफलमा स्थानीय तह, कृषक, उत्पादक समूह, सहकारी, सरकारी निकाय तथा अन्य सरोकारवाला संस्थाबीच समन्वय गरी स्थानीय सम्भावना बोकेका उत्पादनको पहिचान गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा स्थानीय उत्पादनको मूल्य बढाउने, किसानको आम्दानी वृद्धि गर्ने तथा परम्परागत ज्ञान र उत्पादन प्रणालीको संरक्षणका लागि भौगोलिक सङ्केतलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ।
GI : स्थानीय पहिचान, उत्पादनको गर्व र किसानको समृद्धि भन्ने सन्देशसहित स्थानीय विशेषता बोकेका उत्पादनलाई व्यवस्थित रूपमा पहिचान, संरक्षण र बजारीकरण गर्न सरोकारवालाको सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

